
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर १ प्रो गल्फर निरज तामाङ ६–अन्डर ६४ को उत्कृष्ट स्कोरमा शीर्ष स्थानमा रहन सफल भएका छन् ।
निरजले टंकबहादुर कार्की र बलभद्र राईलाई १८ होलको समाप्तिमा ३ स्ट्रोकको अग्रता बनाएका छन् । ३–अन्डर ६७ को स्कोर बनाएका टंक र बलभद्र संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन् ।
१–अन्डर ६९ को स्कोरमा २ पूर्व नम्बर १ गल्फर शुक्रबहादुर राई र भुवन नगरकोटी तथा २ एमेच्योर खेलाडी प्रकृत तामाङ र राहुल विश्वकर्माले संयुक्त रूपमा चौथो स्थान बाँडे । यस्तै, इभन–पार ७० को स्कोर बनाएका रवि खड्का, जयराम श्रेष्ठ र सुमन परियार पहिलो दिनको समाप्तिमा संयुक्त रूपमा ८ औँ स्थानमा रहेका छन् ।
धरान गल्फ क्लबमा डिफेन्डिङ च्याम्पियन निरजले सानदार सुरुवात गर्ने क्रममा दोस्रो होलमा बोगी प्रहार गरे । यसपछि भने तेस्रो, पाँचौँ, छैटौँ र नवौँ होलमा बर्डीको सफलतामा फ्रन्ट नाइन ३–अन्डर ३३ खेले । यसपछि १२ औँ, १३ औँ, १६ औँ र १८ औँ होलमा १–१ सट बचाए । १५ औँ होलमा बोगी खेप्दै ब्याक नाइन ३–अन्डर ३१ मा सकाए ।
टंकले भने फ्रन्ट नाइन १–अन्डर ३५ मा पूरा गर्ने क्रममा दोस्रो होलमा १ सेट खेर फाले । आठौँ र नवौँ होलमा लगातार २ बर्डी प्रहार गरे । यसपछि १४ औँ र १८ औँ होलमा १–१ सट बचाएका उनले ब्याक नाइन बोगीरहित २–अन्डर ३२ खेले ।
धरानका भेट्रान प्रो बलभद्रले बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा तेस्रो र सातौं होलको बर्डीले २–अन्डर ३४ को नतिजा निकाले । १० औँ होलमा बोगी प्रहार गर्दा १५ औँ र १८ औँ होलको बर्डीले ब्याक नाइन १–अन्डर ३३ मा सकाए ।
एमेच्योरतर्फ राहुल र प्रकृत १–अन्डर ६९ सहित संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । राम तामाङ १–ओभर ७१ सहित तेस्रो स्थानमा रहे ।
सूर्य नेपालको प्रायोजनमा ३ दिनसम्म चल्ने ५४ होलको प्रतिस्पर्धामा कूल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको उपाधि विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १ लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । शीर्ष १८ स्थानसम्म रहने खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ३० जना व्यावसायिक खेलाडी तथा ह्यान्डिक्याप ५ वा सोभन्दा कम भएका २२ एमेच्योर खेलाडीले उपाधिका लागि दाबेदारी प्रस्तुत गरेका छन् । ३६ होलको खेलपछि कट लागु हुनेछ । जसअनुसार शीर्ष १८ व्यावसायिक खेलाडी र सोही कटमा पर्ने एमेच्योरहरू अन्तिम चरणमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको समापन माघ ३ गते शनिबार प्रो–एम प्रतियोगितासँगै हुनेछ । प्रो–एम इभेन्टमार्फत एमेच्योर गल्फरहरूले व्यावसायिक खेलाडीसँग एउटै टिममा खेल्ने अवसर पाउनेछन् । जसले प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ ।
सूर्य नेपाल गल्फ टुर २०२५–२६ मा कूल ८ प्रतियोगिता समावेश छन् । जसको समग्र पुरस्कार राशि ८० लाख रुपैयाँ रहेको छ । नेपालको प्रमुख व्यावसायिक गल्फ सर्किटका रूपमा स्थापित यो टुरले यस वर्ष पनि प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

























