
विराटनगर । सुनसरीको इटहरीमा आयोजना हुने ‘दोस्रो चन्द्रमा कोशी प्रदेश स्तरीय तेक्वान्दो’ प्रतियोगितामा सहभागी हुने विराटनगरको टोलीलाई बिदाइ गरिएको छ ।
इटहरीको चन्द्रमा तेक्वान्दो डोजाङले आयोजना गरेको प्रतियोगितामा प्रतिस्पर्धा गर्ने विराटनगरका खेलाडीलाई एक कार्यक्रमकाबीचमा बिदाइ गरिएको हो ।
माघ २ र ३ गते हुने प्रतियोगितामा विराटनगरको फ्युजन तेक्वान्दो एकेडेमीका खेलाडीहरूले चुनौती प्रस्तुत गर्ने छन् । फ्युजन तेक्वान्दो एकेडेमीका २५ जना छात्रछात्रा खेलाडीले प्रतिस्पर्धा गर्ने एकेडेमीकी अध्यक्ष सिर्जना बुढाथोकीले जानकारी दिइन् ।
प्रतियोगितामा क्याडेट, जुनियर, सिनियर र पुम्से महिला / पुरुषको ४२ वटा इभेन्टमा कोशी प्रदेशभरिका ५ सय जना खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३० र तेस्रो हुनेले २० हजार रुपैयाँका साथै ट्रफी, मेडल प्राप्त गर्ने छन् ।

























