
विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर क्रिकेट लिग शुक्रबारदेखि मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा सुरु भएको छ। कोशी प्रदेशको क्रिकेट विकास गर्ने उद्देश्यका साथ आयोजित यस प्रतियोगिताको उद्घाटन खेलमा कटहरी क्रिकेट क्लब एकेडेमीले लायन क्रिकेट एकेडेमीलाई ६९ रनको विशाल अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको कटहरीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६४ रनको बलियो योगफल खडा गरेको थियो। कटहरीका लागि समिर यादवले १८ बलमा ५ छक्का प्रहार गर्दै विस्फोटक ४० रन बनाए भने आइसटेन रिजाल र अश्विन कामतले पनि समान ४०–४० रनको योगदान दिए। लायनका सन्दीप ढकाल, रुद्रप्रताप साह, रिदम सापकोटा र किथार्थ बस्नेतले १–१ विकेट लिएका थिए।
१ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको लायन १८.५ ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमै समेटियो। लायनका सकिव हकले ३५ र गौरभ कटवालले २७ रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। बलिङतर्फ कटहरीका अश्विन महतले ३ र अश्विन कामतले २ विकेट लिए। खेलको प्लेयर अफ द म्याच कटहरीका अश्विन कामत घोषित भए।
फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले प्रदेशमै पहिलो पटक सबैलाई समेट्ने नयाँ ढङ्गबाट यो लिग आयोजना गरिएको बताए। प्रतियोगितामा मोरङका ८ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ जसमा समूह ए मा मिल्स, विराटनगर क्रिकेट एकेडेमी, इलाइट र विराटनगर क्रिकेट क्लब एकेडेमी छन् भने समूह बी मा लायन, कटहरी, सिद्धार्थ र डाइनामिक क्रिकेट एकेडेमी रहेका छन्।
प्रत्येक टोलीमा १६ वर्ष मुनिका १ जना र १९ वर्ष मुनिका २ जनाका साथै मोरङ बाहिरका कम्तीमा २ जना खेलाडी अनिवार्य हुनुपर्ने प्रावधान राखिएको छ। लिगको आधारमा सञ्चालित यो प्रतियोगिताको फाइनल खेल माघ १० गते हुनेछ। प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ।

























