
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको तयारीस्वरूप खेलिएको अन्तिम वार्म अप खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १३७ रनको लक्ष्य अमेरिकाले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकाको जितमा चेतना रेड्डीले अविजित ५६ रनको अर्धशतकीय इनिङ खेलिन् । बलिङतर्फ नेपालका लागि रुबिना क्षेत्री, रिया शर्मा र सोमु विष्टले समान १-१ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३६ रन जोडेको थियो । नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक २७ रन बनाइन् भने सम्झना खड्काले २४, कविता जोशीले २०, रोमा थापाले १९ र पूजा महतोले १७ रनको योगदान दिएका थिए । नेपाल यसअघिको पहिलो वार्म अप खेलमा आयरल्यान्डसँग पनि पराजित भएको थियो ।
लगातार दुई वार्म अप खेलमा हार बेहोरेको नेपालका लागि अब आइतबारदेखि मुख्य प्रतियोगिता सुरु हुँदै छ । ग्लोबल छनोटको समूह चरणमा नेपालले थाइल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड र जिम्बाबे जस्ता बलिया टोलीहरूको सामना गर्ने तालिका रहेको छ ।

























