
काठमाडौँ । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी रोहित पौडेलको कप्तानीमा रहेको टोलीलाई शुभकामनासहित बिदाइ गरेको हो।
नेपाली टोली आइतबार नै प्रस्थान गर्ने तालिका रहेको छ। विश्वकपको मुख्य प्रतियोगिता सुरु हुनुअघि नेपालले श्रीलंका र भारतमा विशेष अभ्यास शृङ्खला खेल्ने कार्यक्रम तय भएको छ। बिदाइ कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नेपाली टोलीले पछिल्लो समय राम्रो गरिरहेको बताउँदै विश्वकपमा सफलताको शुभकामना दिए। उनले भने, ‘हामीले राम्रो गरिरहेका छौँ, भारतमा समर्थकहरूको पनि ठूलो साथ रहने आशा छ।’
कप्तान रोहित पौडेलले तयारी निकै राम्रो भएको र अभ्यासले खेलाडीहरूको आत्मविश्वास बढाएको बताए। ‘सन् २०२५ हाम्रो लागि निकै राम्रो रह्यो, आशा छ यो वर्ष पनि हामीले समग्र नेपालीलाई गर्व महसुस गराउने छौँ,’ उनले भने। यस्तै, मुख्य प्रशिक्षक स्टुअर्ट लले अभ्यास शृङ्खलामार्फत योजनालाई अन्तिम रूप दिने र विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।
नेपालले विश्वकपको समूह चरणमा कठिन प्रतिद्वन्द्वीहरूको सामना गर्नेछ। नेपाल रहेको समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटली रहेका छन्। मुख्य प्रतियोगिताअघि नेपालले तयारीका लागि श्रीलंकामा श्रीलंका ‘ए’ सँग र भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग अभ्यास खेल खेल्नेछ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भारतको कन्डिसन नेपालसँग मिल्दोजुल्दो भएकाले नेपाली टोलीले त्यहाँ राम्रो प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए।



















