
बिर्तामोड। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र झापा गोल्डकपको प्रतिनिधिमण्डलबीच भेटघाट भएको छ। आगामी माघ २४ गतेदेखि सुरु हुने सातौँ संस्करणको झापा गोल्डकपका सन्दर्भमा कुराकानी गर्न आयोजक टोलीले आज बिहान काठमाडौँमा सभापति थापासँग भेट गरेको हो।
गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेल नेतृत्वको टोलीले सभापति थापालाई प्रतियोगिताको तयारी र उद्देश्यबारे जानकारी गराएको थियो। भेटका क्रममा सभापति थापाले झापा गोल्डकपलाई विभिन्न पक्षबाट सहयोग गर्ने र प्रतियोगिता सफल बनाउन आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको वरिष्ठ उपाध्यक्ष पौडेलले जानकारी दिए।
डोमालाल राजवंशी रंगशालामा हुँदैछ प्रतियोगिता झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आगामी माघ २४ गतेदेखि फागुन ४ गतेसम्म ‘स्वर्गीय विनोद बस्नेत स्मृति’ सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ। प्रतियोगिताको तयारी तीव्र पारिएको र यसलाई भव्य रूपमा सम्पन्न गर्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग छलफल अघि बढाइएको आयोजकले जनाएको छ।
यसअघि गोल्डकपका अध्यक्ष केदार गिरी नेतृत्वको टोलीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरी सहयोगको अपिल गरेको थियो। सभापति थापासँगको भेटघाटमा वरिष्ठ उपाध्यक्ष पौडेलसहित कार्यसमिति सदस्यहरू मदन खड्का, राजु घिमिरे, सञ्जीव घिमिरे लगायतको सहभागिता रहेको थियो। झापा गोल्डकप मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता मानिन्छ।

























