
विराटनगर । विराटनगरमा जारी ‘प्रथम विराटनगर क्रिकेट लिग’ प्रतियोगिताको शनिबार भएको खेलमा डाइनामिक क्रिकेट एकेडेमी विजयी भएको छ । डाइनामिकले विजयी सुरुवात गरे पनि लिगको शीर्ष स्थानमा कटहरी क्लब रहेको छ ।
नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा डाइनामिक क्रिकेट एकेडेमीले कटहरी क्रिकेट एकेडेमी क्लबलाई ३ विकेटले पराजित गरेको हो ।
टस जिती पहिलो ब्याटिङ थालेको कटहरीले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेटको क्षतिमा १ सस १८ रनको चुनौती प्रस्तुत गरेको थियो । कटहरीका लागि प्रसिद्ध मण्डलले ३५ रन, आइन्स्टाइन रिजालले २४ रन, कपिल मण्डलले १३ रन, रणधिर कामतले १२ रन र सुमित यादवले १९ रनको योगदान दिए । डाइनामिकका विवेक झाले २ विकेट लिँदा विकास कामत, एसएस झा र सुवास रायले समान १–१ विकेट लिए ।
डाइनामिकले पाएको १ सय १८ रनको विजयी लक्ष्य १९ ओभर खेल्दै ७ विकेटको क्षतिमा पार गरेको थियो । डाइनामिकका रवि रायले २९ रन, रोशन कामतले २२ रन, सागर मोचीले १३ र रितेश माझीले १२ रन जोडेका थिए । कटहरीका अभय कामतले ३ विकेट लिए भने सुमित यादव र रणधिर कामतले समान १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच डाइनामिकका विवेक झा भए ।
प्रतियोगिताअन्तर्गत आइतबारको पहिलो खेल सिद्धार्थ क्रिकेट क्लब र डाइनामिक क्रिकेट क्लब तथा दोस्रो खेल विराट क्रिकेट एकेडेमी र एलाइट क्रिकेट क्लबबीच हुने आयोजकले जनाएको छ ।

























