
धरान । डी एन्ड डी एमेच्योर गल्फ च्याम्पियनसिप भोलिदेखि धरान गल्फ क्लबमा सुरु हुँदै छ। ब्रिटिस सेनामा कार्यरत धरानका गल्फर देवकुमार राई र दीपेन्द्र राईको प्रायोजनमा दुई दिने च्याम्पियनसिप हुन लागेको हो ।
नेपाली गल्फ इतिहासमा यो च्याम्पियनसिपले विशेष महत्त्व राख्ने छ। एमेच्योर गल्फरका लागि पहिलो पटक नगद पुरस्कार राशिको प्रतियोगिता हुँदै छ। त्यसैले यसलाई नेपाली गल्फको नयाँ अध्याय मान्न सकिन्छ। प्रतियोगिताको कूल पुरस्कार राशि २ लाख रुपैयाँ रहेको छ।
एमेच्योर गल्फको प्रवर्द्धन तथा उदीयमान गल्फरहरूलाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस च्याम्पियनसिपमा ९ वा सोभन्दा कम ह्यान्डिक्याप भएका एमेच्योर गल्फरहरूले सहभागिता जनाउन पाउने नियम रहेको छ। ३६ होलको कूल ३८ खेलाडीको हुनेछ। स्ट्रोक प्ले फर्म्याटमा प्रतियोगिता सञ्चालन हुनेछ।
प्रतियोगिताका विजेताले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो, चौथो र पाँचौँ स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः २४ हजार, २० हजार र १६ हजार नगद हात पार्नेछन्। शीर्ष १० स्थानसम्म रहने खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।
पहिलो पटक एमेच्योर गल्फरलाई नगद पुरस्कारको सोच सहित हुने प्रतियोगिताको बारे प्रायोजक देवकुमार राईले नेपालमा एमेच्योर गल्फको विकासमा ठोस योगदान पुर्याउने उद्देश्यले च्याम्पियनसिप सुरु गरिएको बताए । उनले एमेच्योर गल्फरहरूले प्रायः ट्रफी मात्र पाउने भएकाले आर्थिक भार कम गर्न नसक्ने बताउँदै नगद पुरस्कारले खेलाडीलाई सहयोग पुग्ने र खेल खेल्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
अर्का प्रायोजक दीपेन्द्र राईले एमेच्योर गल्फरहरूको स्तर बढाउन, अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्न सक्ने बनाउनुका साथै भविष्यमा प्रोफेसनल खेलाडी बन्ने र खेलकै माध्यमबाट जीविकोपार्जन गर्न सक्षम बनाउने दीर्घकालीन लक्ष्य रहेको बताए।
दीपेन्द्रले यो प्रतियोगिता कम्तीमा पाँच वर्षसम्म निरन्तर रूपमा आयोजना गर्ने प्रतिबद्ध रहेको पनि जानकारी दिए । उनले यसलाई सुरुवात मात्र भएको बताउँदै भविष्यमा प्रतियोगितालाई भव्य बनाउने योजना रहेको जिकिर गरे ।
बेलायतमा रहेका नेपाली प्रवासीबिच बलियो गल्फ समुदाय रहेको उल्लेख गर्दै उनले भविष्यमा यस च्याम्पियनसिपलाई राष्ट्रिय स्तरको प्रतियोगितामा रूपान्तरण गर्ने लक्ष्य रहेको पनि बताए । उनका अनुसार आगामी वर्षमा धरान बाहिरसमेत प्रतियोगिता विस्तार गर्ने विषयमा सरोकारवाला निकायसँग परामर्श गरिने समेत जानकारी दिए । प्रतियोगिताको सञ्चालनका लागि नेपाल गल्फ संघले प्राविधिक सहयोग गर्नेछ ।
पहिलो पटक नगद पुरस्कारको थालनी सहितको डी एन्ड डी एमेच्योर गल्फ च्याम्पियनसिपले उत्कृष्ट एमेच्योर गल्फरहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ र नेपालमा एमेच्योर गल्फ संरचना सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।



















