
काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट क्रिकेट प्रतियोगिता आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ। प्रतियोगिताको पूर्वसन्ध्यामा शनिबार नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको ‘प्रि-म्याच प्रेस कन्फरेन्स’ मा सहभागी सबै देशका कप्तानले आफूहरू प्रतियोगिताका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्।
नेपालले आयोजना गर्न लागेको यो हालसम्मकै ठूलो अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हो। प्रतियोगिताको उद्घाटन खेलमा आज घरेलु टोली नेपालले थाइल्याण्डको सामना गर्दैछ। नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान इन्दु बर्माले घरेलु मैदानमा खेल्न पाउनु ऐतिहासिक अवसर भएको बताएकी छन्। ‘हामी उत्साहित र आत्मविश्वासले भरिएका छौं। १८ वर्षपछि यस्तो ठूलो मौका पाएका छौं,’ उनले भनिन्, ‘ठूला टिमहरूसँग खेल्न पाउनु र अभ्यास खेलहरूबाट धेरै कुरा सिक्नु हाम्रा लागि सुखद पक्ष हो।’
कप्तान इन्दुले यो प्रतियोगिता नेपाली महिला क्रिकेटका लागि ‘टर्निङ पोइन्ट’ हुने र यसले आउने पुस्ताका लागि मजबुत आधार तय गर्ने विश्वास समेत व्यक्त गरिन्। उनले भनिन्, “‘हामीले आगामी पुस्ताका लागि पनि राम्रो वातावरण बनाउने प्रयास गरेका छौं। यो क्यानका लागि पनि आफ्नो क्षमता देखाउने ठूलो अवसर हो।’
छनोटमा सहभागी अन्य देशका कप्तानहरूले पनि नेपालको मौसम र कन्डिसन अभ्यास खेलमार्फत बुझ्ने अवसर पाएको भन्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरे। ग्लोबल छनोटमा विश्वका विभिन्न क्षेत्रबाट छनोट भएर आएका राष्ट्रहरूले प्रतिस्पर्धा गर्दैछन्, जसबाट शीर्ष स्थान हासिल गर्ने टोलीहरूले विश्वकपमा स्थान सुरक्षित गर्नेछन्। नेपाली समर्थकहरूको उपस्थिति र घरेलु मैदानको फाइदा उठाउँदै ऐतिहासिक नतिजा निकाल्ने लक्ष्यमा नेपाल छ।

























