
काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपालले थाइल्याण्डलाई जितका लागि १२३ रनको मध्यम लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन जोड्यो।
नेपालका लागि ओपनर बिन्दु रावलले सम्हालिएको ब्याटिङ गर्दै सर्वाधिक ४४ रनको योगदान दिइन्। विस्फोटक ब्याटिङ गरेकी सम्झना खड्काले मात्र ११ बलमा २६ रन जोडिन भने पूर्व कप्तान रुबिना क्षेत्रीले १० बलमा २ छक्का र १ चौकाको मद्दतले १७ रन बनाइन्।
नेपाललाई सस्तैमा समेट्न थाइल्याण्डकी थिपात्चा पुथावङले घातक बलिङ गरिन्। उनले ४ ओभरमा मात्र १५ रन खर्चेर ४ विकेट लिइन्। त्यस्तै ओनिचा काम्चोम्फुले २ विकेट हात पारिन्। केही समयमै थाइल्याण्डले जवाफी ब्याटिङ सुरु गर्नेछ। ऐतिहासिक जितका लागि नेपाललाई अब बलिङमा उत्कृष्ट प्रदर्शनको खाँचो छ।

























