
काठमाडौं । मुलुकमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेसँगै सेयर बजारमा आइतबार उत्साहजनक सुधार देखिएको छ। साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.१२ अंकले बढेर २६७२.५५ विन्दुमा पुगेको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरूले उम्मेदवार घोषणा गर्न थालेपछि लगानीकर्तामा चुनावी उत्साह देखिएको हो। बजार खुलेदेखि नै हरियो रहेको नेप्सेमा कारोबार रकम पनि अघिल्लो सत्रको तुलनामा उल्लेख्य बढेको छ। गत बिहीबार ६ अर्ब २० करोडको सेयर किनबेच भएकोमा आज २ करोड १५ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ।
आज बजारमा कारोबार भएका १३ वटै उपसमूहका सूचकहरू बढेका छन्। जसमा फाइनान्स समूह सबैभन्दा धेरै ५.७३ प्रतिशतले उकालो लागेको छ। यस्तै विकास बैंक ३.०३, उत्पादन तथा प्रशोधन २.४२ र होटल तथा पर्यटन २.०२ प्रतिशतले बढेका छन्।
बजारमा आज २२४ कम्पनीको सेयर मूल्य बढ्दा ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। १० प्रतिशतले मूल्य बढ्ने कम्पनीहरूमा सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक र गोर्खाज फाइनान्स रहेका छन्। अर्कोतर्फ, ३१ वटा कम्पनीको मूल्य घट्दा थ्रीस्टार हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ८.७८ प्रतिशत गुमाएका छन्।
कारोबार रकमका आधारमा आज मञ्जुश्री फाइनान्स ५३ करोड १६ लाख रुपैयाँसहित शीर्ष स्थानमा रह्यो। यस्तै एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार र राधि विद्युत् कम्पनी पनि धेरै कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।

























