विराटनगर क्रिकेट लिग: सिद्धार्थ र विराट विजयी 

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ४, आइतबार २०:३९
विराटनगर क्रिकेट लिग: सिद्धार्थ र विराट विजयी 

विराटनगर । विराटनगरमा जारी ‘प्रथम विराटनगर क्रिकेट लिग’ मा सिद्धार्थ स्पोर्टिङ  क्लब र विराट क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेका छन् ।

नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आइतबारको पहिलो खेलमा सिद्धार्थले डाइनामिक क्रिकेट एकेडेमीलाई ७३ रनले हराउँदै २ अंक बटुलेको छ । समूह ‘बी’ मा रहेको सिद्धार्थले पहिलो खेल जित्दै २ अंकका साथ शीर्ष स्थान बनायो भने कटहरी २ खेलमध्ये १ मा जित र १ मा पराजित हुँदै २ अंकका साथ दोस्रो, डाइनामिक २ खेलमध्ये १ मा जित र १ मा पराजित हुँदै २ अंकका साथ तेस्रो र लायन क्रिकेट एकेडेमी १ खेलमा पराजित हुँदै अन्तिममा रहेको छ ।

डाइनामिकले टस जितेर सिद्धार्थलाई पहिलो ब्याटिङका लागि निम्तो दिएको थियो । पहिलो ब्याटिङको मौका पाउको सिद्धार्थले निर्धारित १८ ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रनको चुनौती प्रस्तुत गर्‍यो । अटल साहले ४४ रन, फिर्दोस अन्सारीले ४० रन र  रविन मण्डलले २९ रनको योगदान दिए । डाइनामिकका एसएस झाले ३ र विवेक झाले २ विकेट लिए ।

१ सय ३८ रनको लक्ष्य पछ्याएको डाइनामिकले १५ ओभरमा सबै विकेटको क्षतिमा ६४ रनमै समेटियो । सुभाष रायले मात्रै ११ रन बनाए भने अन्यले दोहोरा अंकलाई छुन सकेनन् । सिद्धार्थका फिर्दोस अन्सारीले ३ विकेट, दुर्गेश मल्लिकले २ विकेट तथा दीपेश कँडेल र निरज मुखियाले १–१ विकेट लिए ।  खेलको प्लेयर अफ द म्याच सिद्धार्थका फिर्दोस अन्सारी भए ।

त्यस्तै, दोस्रो खेल समूह ‘ए’ अन्तर्गत विराट क्रिकेट एकेडेमीले इलाइट क्रिकेट क्लबलाई ५१ रनले हराउँदै २ अंक जोडेको छ ।

टस जितेर ब्याटिङ थालेको विराटले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४१ रन बनायो । जसमा विशाल ढकालले ६० रन, दीपक पासवानले १९ रन र लव कामतले १५ रन बनाए । इलाइटका सोनु सिंह, हरेराम सिंह र राजु विश्वकर्माले समान २–२ विकेट लिए ।

१ सय ४२ रनको लक्ष्य पछ्याएको इलाइटले १८ ओभर २ बलमा सबै विकेट गुमाउँदै ९० रनमै सीमित भयो । चतुरानन्द मेहताले १८ रन र सागर मल्लिकले पनि १८ रन बनाए । विराटका महबुब इराकी र श्रवण यादवले समान ३–३ विकेट तथा दीपक पासवानले २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच विराट विशाल ढकाल भए ।

प्रतियोगिताको सोमबारको पहिलो खेल सिद्धार्थ स्पोर्टिङ क्लब र कटहरी क्रिकेट एकेडेमी तथा दोस्रो खेल विराट क्रिकेट एकेडेमी र विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमीबीच हुने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×