
काठमाडौँ । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यले ऐतिहासिक नयाँ रेकर्ड बनाएको छ। सुनको मूल्य एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकिएको छ। आइतबार सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यसअघि गत बुधबार सुनको मूल्यले प्रतितोला २ लाख ७८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो, जुन आज सोमबार तोडिएको छ। सुनसँगै चाँदीको मूल्यले पनि नयाँ उचाइ छोएको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँले बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यले दैनिकजसो नयाँ रेकर्ड कायम गरिरहेको छ।

























