
विराटनगर । उद्योग र श्रम बजारको माग अनुसार दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले सुन्दरहरैँचाको विराटचोकमा ‘पूर्व सिकाइको मान्यतामा आधारित सीप परीक्षण तथा नयाँ पेशा पहिचान’ सम्बन्धी परामर्श कार्यशाला सम्पन्न भएको छ। उद्योग संगठन मोरङको आयोजना र सुन्दरहरैँचा उद्योग वाणिज्य संघको समन्वयमा मंगलबार सो कार्यक्रम भएको हो।
कार्यशालामा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले वर्षौँदेखि काम गरेर व्यवहारिक सीप हासिल गरेका धेरै श्रमिकहरू औपचारिक प्रमाणपत्र नहुँदा अवसरबाट वञ्चित भइरहेको बताए। उनले पूर्व सिकाइको मान्यता (आरपिएल) प्रणालीमार्फत यस्ता जनशक्तिलाई कानुनी प्रमाणपत्र दिलाउन सके उद्योगहरूले पनि दक्ष श्रमिक सहजै पाउने विश्वास व्यक्त गरे।
सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले उद्योगले खोजेको र श्रमिकसँग भएको सीपबीचको खाडल पुर्न यस्तो प्रमाणीकरण आवश्यक रहेकोमा जोड दिए। कार्यक्रममा सिटीईभीटी कोशी प्रदेशका उपनिर्देशक दुर्गाप्रसाद ओझाले अनुभवी तर अप्रमाणित श्रमिकहरूलाई प्रमाणपत्र प्रदान गर्दा उनीहरूको आत्मविश्वास बढ्ने र उद्योगको उत्पादकत्वमा समेत सुधार आउने बताए।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख लक्ष्मी न्यौपानेले स्थानीय तहमा रोजगारी सिर्जना गर्न उद्योगमैत्री र व्यवहारिक सीप विकासका लागि सबै सरोकारवाला मिल्नुपर्ने औँल्याइन्। कार्यक्रमका सहजकर्ताहरू रामप्रसाद सापकोटा र अजिप चापागाईँले श्रम बजारको माग अनुसार सीपको विकास र कार्यान्वयन आजको आवश्यकता भएको बताए।
विभिन्न पेसामा आबद्ध श्रमिकहरूको सहभागिता रहेको यस कार्यक्रममा सीप परीक्षणका लागि आगामी माघ १२ गतेदेखि आवेदन फारम खुल्ने जानकारी दिइएको छ। इच्छुक व्यक्तिले सिटीईभीटी, एनएसटीबी र सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको वेबसाइटबाट फारम प्राप्त गर्न सक्ने उद्योग संगठन मोरङले जनाएको छ।

























