
काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले आज (बिहीबार) नेदरल्यान्ड्ससँग दोस्रो खेल खेल्दैछ ।
समूह ‘बी’ को यो खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएपछि नेपाल दबाबमा छ ।
समूह चरणबाट अघिल्लो चरणमा पुग्न अब बाँकी ३ खेलमध्ये कम्तीमा २ खेल जित्नैपर्ने अवस्था बनेको छ । उता नेदरल्यान्ड्स भने जिम्बाबे र स्कटल्यान्डलाई हराउँदै उत्कृष्ट लयमा देखिएको छ । अब नेदरल्यान्ड्स १ जितले नै अगाडि बढ्ने स्थिति छ ।
महिला टी–२०आई वरियतामा नेदरल्यान्ड्स १४औँ स्थानमा रहँदा नेपाल २१औँ स्थानमा छ । यी २ टोलीबीच अहिलेसम्म भएका ३ वटै खेलमा नेपाल पराजित भएको तथ्यले पनि बिहीबारको खेललाई अझै चुनौतीपूर्ण बनाएको छ ।
रुबिना क्षेत्रीको कप्तानीमा नेपाल जितको बाटो फर्किने लक्ष्यसहित मैदान उत्रँदैछ । इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, कविता कुँवर, सीता राना मगरलगायत खेलाडीबाट विशेष प्रदर्शनको अपेक्षा गरिएको छ । विश्वकपको सपना जीवित राख्न नेपालका लागि बिहीबारको खेल ‘गर या मर’ जस्तै बनेको छ ।

























