
बिर्तामोड । झापा उद्योग वाणिज्य संघ भद्रपुरको आयोजनामा हुन लागेको ‘झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव (झापा एक्स्पो)–२०८२’ सुरु भएको छ । ‘समृद्धिको आधार, आर्थिक विकास कृषि पर्यटन उद्योग र व्यापार’ भन्ने नाराका साथ भोलि माघ ७ गतेदेखि मेची रंगशालामा महोत्सव हुँदैछ।
आयोजकले भद्रपुरमा करिब एक दशकपछि आयोजना हुन लागेको यस महोत्सवका लागि रंगशाला परिसरमा १ सय ३० वटा स्टल निर्माण गरिएका जानकारी दिएको छ। महोत्सव संयोजक तथा संघका कार्यवाहक अध्यक्ष राजकुमार राईले जिल्लाको आर्थिक तथा सामाजिक उत्थानका लागि यो कार्यक्रम कोसेढुङ्गा सावित हुने बताए। उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको उनको भनाइ छ।
महोत्सवमा १० करोड रुपैयाँ बराबरको कारोबार हुने र १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। महोत्सव सम्पन्न गर्न विभिन्न नौवटा उपसमितिहरू गठन गरेर जिम्मेवारी बाँडफाँट गरिएको छ। महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको सांगीतिक प्रस्तुति, हास्यव्यङ्ग्य, सेल्फीजोन, बाल उद्यान र विभिन्न जातजातिका झाँकीहरू मुख्य आकर्षणका रूपमा रहनेछन्। भद्रपुर नगरपालिकाले संरक्षकत्व ग्रहण गरेको यस महोत्सवलाई सफल बनाउन जिल्ला खेलकुद विकास समितिले पनि सहयोग गरेको छ।

























