
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजार परिसूचक (नेप्से) मा सामान्य सुधार देखिएको छ। बुधबारको करेक्सनपछि आज नेप्से ९.२३ अङ्कले बढेर २७१४.६१ विन्दुमा पुगेर बन्द भएको हो।
बजार बढ्दा कारोबार रकममा पनि उत्साह देखिएको छ। आज ३३२ कम्पनीका १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर ९४ हजार १७४ पटक खरिदबिक्री हुँदा ९ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भयो। आज कारोबार भएका कम्पनीमध्ये १६२ को सेयर मूल्य बढ्यो भने ८८ को घट्यो। बाँकी १० कम्पनीको मूल्य भने स्थिर रह्यो।
तीन कम्पनीमा ‘सकारात्मक सर्किट’ आज तीन वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। एसवाई प्यानल, श्रीनगर एग्रोटेक र त्रिशूली जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो। यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य पनि ९.९९ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् अग्रस्थानमा रह्यो। यस कम्पनीको ४० करोड ८२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। त्यसैगरी, मञ्जुश्री फाइनान्स ३५ करोड ९४ लाख र एसवाई प्यानल ३२ करोड ९५ लाख रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहे। उपसमूहतर्फ वित्त (फाइनान्स) समूहमा सबैभन्दा बढी २.३८ प्रतिशतको वृद्धि देखियो। व्यापार उपसमूह भने १.१५ प्रतिशतले घट्यो। आज बजार बन्द हुँदा कुल बजार पुँजीकरण ४५ खर्ब ५७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।

























