
विराटनगर । विराटनगरमा भएको ‘प्रथम विराटनगर क्रिकेट लिग’ प्रतियोगिताको उपाधि विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमीले जितेको छ ।
प्रतियोगिताअन्तर्गत शनिबार भएको फाइनल खेलमा विराटनगरले सिद्धार्थ स्पोर्टिङ क्लबलाई २ रनले हराउँदै उपाधि जितेको हो । उपाधिसँगै विराटनगरले २५ हजार र उपविजेता सिद्धार्थले १० हजार रुपैयाँ साथै ट्रफी प्राप्त गर्यो ।
नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा भएको खेलमा टस जितेर ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३८ रनको चुनौती प्रस्तुत गर्यो । सुजन थपलियाले ७२ रन, कमलदेव चौधरीले १९ रन र कृश शर्माले १५ रन बनाए । बलिङमा सिद्धार्थका श्रवण किस्कुले २ विकेट तथा दीपेश कँडेल र निरज मुखियाले समान १–१ विकेट लिए ।
१ सय ३९ रनको लक्ष्य पाएको सिद्धार्थले पूरै ओभर खेल्दै ९ विकेट गुमाउँदै १ सय ३६ रनमै समेटियो । रविन मण्डलले ४८ रन, अनिल लामिछानेले ३६ रन र फिर्दोस अन्सारीले १३ रन बनाए । विराटनगरका कृश शर्माले ४ विकेट, रितेश झाले ३ विकेट र प्रशान्त साहले २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच विराटनगरका कृश शर्मा भए ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट ब्याटर लायन क्रिकेट क्लबका सकिब हक, उत्कृष्ट बलर सिद्धार्थका दीपेश कँडेल भए भने प्लेयर अफ टुर्नामेन्ट सिद्धार्थका फिर्दाेस अन्सारी भए ।



















