
काठमाडौं । चितवनको सौराहामा कर्पोरेट खेलकुद प्रतियोगिता ‘जंगल सफारी क्रिकेट २०२६’ आयोजना हुने भएको छ । इभेन्ट्स दरबारले आगामी फेब्रुअरी २० देखि २२ तारिखसम्म सौराहाको ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टमा यो प्रतियोगिता आयोजना गर्ने जनाइएको छ ।
सन् २०१९ देखि ‘जंगल क्रिकेट’ को नामबाट सुरु भएको यो प्रतियोगिता यस पटक ‘जंगल सफारी क्रिकेट’ को नयाँ स्वरूपमा सञ्चालन हुन लागेको हो । यसले खेलकुदसँगै कर्पोरेट नेटवर्किङ, मनोरञ्जन र पर्यटनलाई एकैसाथ जोड्ने लक्ष्य राखेको छ । २ रात ३ दिनको यो प्याकेजमा सहभागीहरूले क्रिकेट मात्र नभई ‘जंगल फील’ थिममा टिम बिल्डिङ र आरामको अवसर पाउने छन् ।
यसैगरी, प्रतियोगितामा बैंक, वित्तीय संस्था, आईएनजीओ र कूटनीतिक नियोगका टिमहरू सहभागी हुनसक्ने छन् भने महिला खेलाडीहरूको सहभागितालाई विशेष प्रोत्साहन गरिएको छ ।
विगतका संस्करणहरूमा कर्पोरेट क्षेत्रबाट पाएको सकारात्मक प्रतिक्रिया र प्रायोजकहरूले प्राप्त गरेको ‘ब्रान्ड माइलेज’ का कारण यस पटकको संस्करण अझै परिष्कृत हुने आयोजक इभेन्ट्स दरबारले जनाएको छ ।



















