
विराटनगर । विराटनगरस्थित पोखरिया यूथ केयर एकेडेमीको आयोजनामा शनिबार युवा तथा बालबालिकाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले सडक दौड तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
विराटनगरका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको प्रतियोगिताको छात्रतर्फको सडक दौडमा जनता नमुना माध्यमिक विद्यालयका समीर राजवंशी प्रथम, मोर्डन एरा स्कुलका सुमन उराउ दोस्रो र डनबस्को स्कुलका अनिष कामत तेस्रो भए । छात्रातर्फ जनता नमुना माविकी भूमिका राजवंशीले प्रथम, डनबस्को स्कुलकी प्रशंसा खड्का दोस्रो र दीक्षा राई तेस्रो भइन् ।

त्यस्तै, चित्रकलाको जुनियरतर्फ इडेन स्कुलका एरिस तिम्सिना प्रथम, सनसाइन स्कुलकी नन्दनी कामत दोस्रो र प्यारागन स्कुलका सगुन ढकाल तेस्रो भए । सिनियरतर्फ इडेन स्कुलकी मेहेक मित्तल प्रथम, आर्यन्त स्कुलकी भूमिका विश्वास दोस्रो र डनबस्कोकी एन्जिला बास्तोला तेस्रो भए ।
प्रतियोगिताका विजेतालाई वन तथा पर्यटन मन्त्री भीम पराजुली, विराटनगर १ का वडाध्यक्ष काजीबहादुर बस्नेत, ३ का वडाध्यक्ष बासु बस्नेत, एन्फाका पूर्वमानार्थ उपाध्यक्ष सन्तोष बानियाँ, शुभाशिष् कोइरालालगायतले पुरस्कार प्रदान गरे ।

























