
विराटनगर । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले १० औँ राष्ट्रिय खेलकुद निर्धारित मितिमै आयोजना हुने बताएका छन् । आइतबार विराटनगरमा जेनजी आन्दोलनबाट खेलकुद संरचनामा पुगेको क्षतिको जानकारी लिने क्रममा सदस्यसचिव मेहताले यस्तो बताएका हुन् ।
सदस्यसचिव मेहताले राष्ट्रिय खेलकुदलाई तोकिएको समयमै सम्पन्न गर्न परिषद्ले तीव्र गतिमा काम गरिरहेको स्पष्ट पारे । यद्यपि, प्रतियोगिता आयोजनाका लागि सरकारबाट पर्याप्त बजेट प्राप्त नभएको र आयोजना स्थल कर्णाली प्रदेश सरकारबाट अपेक्षाकृत सहयोग र समय नपाएको उनले गुनासो गरे ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ मोरङका अध्यक्ष अनुज बानियाँका अनुसार सदस्यसचिव मेहताले कर्णाली प्रदेशका मुख्यमन्त्रीले १० औँ राष्ट्रिय खेलकुदका लागि पर्याप्त समय दिन नसकेको कुरा व्यक्त गरेका थिए । प्रदेशको सामाजिक विकास मन्त्रालयले खेलकुदका लागि चासो देखाए पनि प्रदेश सरकारको व्यस्तताले परिषद्लाई समन्वयमा कठिनाइ भइरहेको मेहताले बताए ।
विराटनगर भ्रमणका क्रममा सदस्यसचिव मेहतालाई जेनजी आन्दोलनका क्रममा खेलकुद संरचना र प्रदेश खेलकुद विकास बोर्डमा भएको क्षतिबारे जानकारी लिए । आन्दोलनका क्रममा जिल्ला फुटबल संघ मोरङको करिब ४० लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको जानकारी गराएको बानियाँले बताए ।
सदस्यसचिव मेहताले विराटनगरमा रहेका अन्य खेलकुद संरचना र खेल सामाग्रीको अवस्थाबारे पनि स्थलगत जानकारी लिएका थिए ।
यसैबीच, सदस्यसचिव मेहताले फागुन दोस्रो साता आयोजना हुने विराट गोल्डकपका लागि आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका छन् ।

























