
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नयाँ भन्सार ऐन कार्यान्वयनका लागि नियमावली ल्याउने अन्तिम तयारी भइरहेको बताएका छन्। अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले नियमावली नहुँदा ऐनका व्यवस्थाहरू कार्यान्वयन गर्न परेको बाधा अब अन्त्य हुने बताए।
निजी क्षेत्रलाई सहज सुविधा दिन र भन्सार प्रशासनलाई थप व्यवस्थित बनाउन सरकारले नयाँ ऐन ल्याएको मन्त्री खनालले स्पष्ट पारे। नियमावली स्वीकृतिका लागि सम्भवतः आजै मन्त्रिपरिषद्मा लैजाने तयारी रहेको उनले जानकारी दिए। भन्सार ऐन आए पनि नियमावली नआएकै कारण धेरै काम रोकिएका छन्, अब त्यो अवस्था रहँदैन, उनले भने।
अर्थमन्त्री खनालले भन्सार सुधार रणनीतिलाई पनि छिट्टै ल्याएर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए। सरकारले भन्सार प्रक्रियालाई आधुनिक र प्रविधिमैत्री बनाउन प्राथमिकता दिएको उनले बताए।

























