
विराटनगर । विराटनगरमा जारी ‘हिसान स्पोर्ट्स मिट’ को क्रिकेट खेलमा रेड स्टार र कोबास कलेज क्वाटर फाइनलमा पुगेका छन् ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङले आयोजना गरेको प्रतियोगितामा फुटबलमा मेरिल्यान्ड, होली चाइल्ड र कोशी मोडेल विजयी भए ।
प्रतियोगिताअन्तर्गत क्रिकेटको पहिलो खेलमा रेड स्टार कलेजले सेन्ट जोसेफ कलेजलाई ९९ रनमा हराउँदै क्वाटर फाइनलमा पुगेको हो ।
सेन्ट जासेफले टस जितेर पहिलो ब्याटिङको निम्तो रेड स्टारलाई दिएको थियो । पहिलो ब्याटिङको मौका पाएको रेट स्टारले निर्धारित २० ओभरको खेलमा १९ ओभर ३ बलमा सबै विकेटको क्षतिमा १ सय ३२ रनको चुनौती खडा गर्यो । विवेक कार्कीले २७ रन बनाए । सेन्ट जोसेफका हरिबहादुर तिम्सिनाले ३ विकेट लिए ।
१ सय ३३ रनको लक्ष्य भेटाउने क्रममा सेन्ट जोसेफले १२ ओभरमा सबै विकेट गुमाउँदै ३३ रनमै समेटियो । अतिरिक्तबाट १९ रन बटुलेको सेन्ट जोसेफका कुनै खेलाडीले दोहोरो अंक बनाएनन् । रेड स्टारका प्लेयर अफ द म्याच विवेक कार्कीले ४ विकेट लिए ।

दोस्रो खेलमा कोबास कलेजले नेशनल एकेडेमीलाई ५ विकेटमा हराउँदै क्वाटर फाइनलमा पुग्यो ।
टस हार्दै पहिलो ब्याटिङको मौका पाएको नेशनलले निर्धारित २० ओभरको खेलमा १८ ओभर खेल्दै सबै विकेटको क्षतिमा १ सय ५ रनको चुनौती प्रस्तुत गर्यो । भरत साहले २० रन बनाए । कोबासका लालु यादव र महमद समिरले ३–३ विकेट लिए ।
१ सय ६ रनको लक्ष्य पाएको कोबासले १४ ओभर ४ बलमा ५ विकेट गुमाउँदै विजयी भयो । प्लेयर अफ द म्याच लालु यादवले ३९ रन बनाए । नेशनलका अमन कामतले ४ विकेट लिए ।
त्यस्तै, फुटबलको पहिलो खेलमा मेरिल्यान्ड कलेजले अरनिको कलेजलाई ५–१ को गोल अन्तरले हरायो । मेरिल्याण्डका लागि प्लेयर अफ द म्याच निशान राईले २ गोल, निमेष श्रेष्ठ, निशान्त चौधरी र अभिषेक कामतले १–१ गोल गरे भने अरनिकोका निवेश खतिवडाले १ गोल फर्काए ।
दोस्रो खेलमा होली चाइल्ड कलेजले बिकेभिएम कलेजलाई ३–० को गोल अन्तरले पराजित गर्यो । होली चाइल्डको जितमा प्लेयर अफ द म्याच शिव राईले २ गोल र जेनिश धिमालले १ गोल गरे ।
तेस्रो खेलमा कोशी मोडेल कलेजले नेशनल एकेडेमीलाई ५–२ को गोल अन्तरले पराजित गर्यो । कोशीको जितमा प्लेयर अफ द म्याच करण चौधरीले २ गोल तथा आर्यन भण्डारी, विवेक उराव र अभिषेक चौधरीले १–१ गोल गरे ।
त्यसैगरी, बास्केट बलतर्फ बिकेभिएम शीर्ष स्थानमा रहेको छ । बास्केट बलको पहिलो खेलमा अरनिको कलेजले कोबास कलेजलाई ६०–११ को स्काेरमा हरायो । खेलको प्लेयर अफ द म्याच अरनिकोका प्रनव चौलागाईं भए ।
दोस्रो खेलमा बिकेभिएम कलेजले शिक्षादीप कलेजलाई ३५–२७ को स्कोरले पराजित गर्यो । खेलको प्लेयर अफ द म्याच बिकेभिएमका सन्तोष साह भए ।
यस्तै, तेस्रो खेलमा शिक्षादीपले अरनिको कलेजलाई ५६–३० को स्कोरमा पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच शिक्षादीपका सन्दीप अर्जेल भए ।
चौथो खेलमा बिकेभिएम कलेजले कोबास कलेजलाई ५१–१५ को स्कोरमा हरायो । खेलको प्लेयर अफ द म्याच बिकेभिएमका निशल कार्की भए ।
बास्केट बलमा ४ वटा टोली मात्रै सहभागी भएका कारण लिगको आधारमा खेलाइएको छ । लिगको शीर्ष पहिलो र दोस्रो टोलीबिच फाइनल हुनेछ ।

























