
विराटनगर । विराटनगरमा जारी ‘हिसान स्पोर्ट्स मिट’ को बास्केटबलको खेलमा बालकल्याण विद्या मन्दिर (बिकेभिएम) र शिक्षादीप कलेज फाइनलमा पुगेका छन् ।
हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बास्केटबलको पहिलो खेलमा शिक्षादीप कलेजले कोबास कलेजलाई ४३–११ को स्काेरमा हराउँदै फाइनल पुगेको हो । शिक्षादीप ३ खेलमध्ये २ मा जित र १ मा पराजित हुँदै समूह उपविजेता हुँदै फाइनल पुग्यो । खेलको प्लेयर अफ द म्याच शिक्षादीपका प्रिन्स राउत भए ।
अर्को खेलमा बिकेभिएमले अरनिको कलेजलाई ४५–२५ को स्काेरमा हराउँदै फाइनलमा प्रवेश गर्यो । लगातार ३ खेल जित्दै समूह विजेता बनेर बिकेभिएम फाइनलमा पुगेको हो । खेलको प्लेयर अफ द म्याच बिकेभिएमका सक्षम गुप्ता भए ।
त्यस्तै, क्रिकेट खेलमा अर्किड कलेज र अरनिको कलेज सेमिफाइनलमा पुगे । पहिलो खेलमा अर्किड कलेजले ग्रिनल्याण्ड कलेजलाई १ विकेटले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
अर्किडले टस जितेर पहिले फिल्डिङ रोजेसँगै पहिलो ब्याटिङ थालेको ग्रिनल्याण्डले निर्धारित २० ओभरको खेलमा १७ ओभर २ बलमा अलआउट हुँदै ७८ रनमै सीमित भयो । महमद मोजाहिदले १९ रन बनाए । अर्किडका प्लेयर अफ म्याच नन्दु मुखियाले ३ विकेट लिँदा कृष्ण यादवले पनि ३ विकेट लिए ।
७९ रन लक्ष्य पाएको अर्किडले १३ ओभर ४ बलमा १ विकेट बाँकी छँदै विजयी भयो । नन्दु यादवले २८ रन बनाए । ग्रिनल्याण्डका फैजल अन्सारी र सन्तोष मुखियाले ३–३ विकेट लिए ।
दोस्रो खेलमा अरनिको कलेजले विराट क्याम्पसलाई १ सय ९ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ थालेको अरनिको कलेजले निर्धारित २० ओभरको खेलमा १६ ओभर २ बलमा सबै विकेटको क्षतिमा १ सय ५७ रनको चुनौती प्रस्तुत गर्यो । अरनिकोका प्लेयर अफ द म्याच अभिषेक मण्डलले ३३ रन बनाए । विराटका हरेराम साहले ३ विकेट लिए ।
१ सय ५७ रनको लक्ष्य पाएको विराट क्याम्पसले १५ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ४८ रनमै समेटियो । चन्द्र शर्माले १० रन बनाए । अरनिकोका अमन यादवले ३ विकेट र अभिषेक मण्डलले २ विकेट लिए ।
त्यस्तै, फुटबलतर्फ भानु, शिक्षा सन्देश, बुद्ध र मेरिल्यान्ड विजयी भएका छन् ।
पहिलो खेलमा भानु कलेजले ग्रिनल्याण्ड कलेजलाई टाइब्रेकरमा ४–३ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । निर्धारित समयमा दुवै टोलीले गोल रहित खेलपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । भानुका गोलरक्षक मिस्टर हसन प्लेयर अफ द म्याच भए ।
दोस्रो खेलमा शिक्षा सन्देश कलेजले शिक्षादीप कलेजलाई २–१ को गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको छ । शिक्षा सन्देशका लागि प्लेयर अफ द म्याच योहान लिम्बू र रियाज श्रेष्ठले १–१ गोल गरे ।
त्यसैगरी, तेस्रो खेलमा बुद्ध कलेजले विराट क्याम्पसलाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा पुग्यो । बुद्धका प्लेयर अफ द म्याच जतिनकुमार थारुले ३ गोल र अन्जेश मगरले २ गोल गरे ।
दिनको चौथो खेलमा मेरिल्यान्ड कलेजले मोडर्न एरा कलेजलाई २–१ गोलमा हराउँदै क्वाटरफाइनलमा पुग्यो । मेरिल्यान्डका अभिषेक कामत र निशान राईले १–१ गोल गरे भने मोडर्न एराका अमरलाल सरदारले १ गोल फर्काए । खेलको प्लेयर अफ द म्याच मेरिल्यान्डका सुवास राजवंशी भए ।

























