
विराटनगर । विराटनगरमा जारी ‘प्रथम कोशी एलाइट कप क्रिकेट’ लिग प्रतियोगिताको फाइनलमा मोरङ जिल्ला क्रिकेट संघ पुगेको छ ।
कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा मोरङले झापा क्रिकेट संघलाई ४ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । मोरङ लगातार २ खेलमा जित निकाल्दै ४ अंकका साथ तालिकाको शीर्ष स्थान रहँदै फाइनलमा स्थान पक्का गरेको हो ।
मोरङले झापा र सुनसरीलाई पराजित गरेको छ । झापा र सुनसरी क्रमशः तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका छन् । शुक्रबार उनीहरूबिच हुने खेलमा जित्ने टोलीले शनिबार मोरङसँग फाइनल खेल्ने छ ।
टस जितेर ब्याटिङ थालेको झापाले निर्धारित ४३ ओभरको खेलमा ३३ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८४ रनको सामान्य चुनौती प्रस्तुत गर्यो । सुजन थपलियाले २५ रन र एलिस मण्डलले २३ रन बनाए । मोरङका प्रेम कामतले ५ विकेट, दीपेश कँडेलले २ विकेट, फिर्दोस अन्सारी, श्रवण किस्कु र प्रतीक पोखरेलले १–१ विकेट लिए ।
मोरङले पाएको ८५ रनको लक्ष्य ३० ओभर ५ बल खेल्दै ६ विकेटको क्षतिमा ८६ रन बनाउँदै विजयी भयो । दीपेश कँडेलले ३१ रन र प्रतीक कामतले २९ रनको योगदान गरे । झापाका विपिनकुमार महतोले ३ विकेट, आयुष न्यौपाने, सौजनप्रसाद घिमिरे र सुजन थपलियाले १–१ विकेट लिए । खेलको प्लेयर अफ म्याच मोरङका प्रेम कामत भए ।

























