
काठमाडौं। सरकारले ‘नेप्से पुनर्संरचना सुझाव समिति–२०८२’ ले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। माघ १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृह मन्त्री ओम प्रकाश अर्यालले जानकारी दिए।
अर्थ मन्त्री रामेश्वर खनालको प्रस्तावमा गत मंसिर २ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनाका लागि आवश्यक अध्ययन गरी सुझाव पेश गर्न यो समिति गठन गरेको थियो। समितिले आफ्नो अध्ययन कार्य पूरा गरी प्रतिवेदन सरकारलाई बुझाइसकेको छ।
यस समितिमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक रुपेश केसी, नेप्सेका प्रवक्ता मुराहरी पराजुली र राष्ट्र बैंकका निर्देशक सुभाषचन्द्र घिमिरे सदस्य थिए। त्यस्तै, विज्ञ सदस्यको रूपमा धितोपत्र बोर्डका अवकाश प्राप्त कार्यकारी निर्देशक निरज गिरी र सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला रहेका थिए। यो प्रतिवेदन सार्वजनिक भएसँगै नेप्सेको सुधार र भावी योजनाका बारेमा विस्तृत जानकारी बाहिर आउने देखिएको छ।

























