
पोखरा । पोखरामा आज (शनिबार) देखि १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ। पोखरा रङ्गशालास्थित फुटबल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा बङ्गलादेश र भुटान भिड्दैछन्।
यसैगरी घरेलु टोली नेपालले पनि आजै भारतसँग आफ्नो पहिलो खेल खेल्दैछ। नेपाल र भारतबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। पोखरामा पहिलोपटक आयोजना भएको यस प्रतियोगितामा दक्षिण एसियाका चार देशले सहभागिता जनाएका छन्।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हुने यो प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुने साफका महासचिव पुरुषोत्तम कट्टेलले जानकारी दिए। यस प्रणाली अनुसार प्रत्येक टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन्। खेलअघि आयोजित पत्रकार सम्मेलनमा सहभागी चारै देशका प्रशिक्षक र कप्तानले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने बताए।
लिग चरणका खेलहरू सकिएपछि शीर्ष दुई टोलीले माघ २४ गते हुने फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता हेर्न चाहने दर्शकका लागि एन्फाले सामान्य प्यारापिटतर्फ २०० र भिआइपीतर्फ ५०० रुपैयाँको टिकट दर तोकेको छ।

























