
विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पोमा बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा केन्द्रित रहेर विशेष छलफल भयो । एक्स्पोका क्रममा उद्योग, व्यवसाय र श्रम बजारका समसामयिक मुद्दामा भइरहेका नियमित छलफल अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा मोरङ उद्योग व्यापार संघकी कार्यकारी सदस्य डा. बन्दना जैनले बजारमा सीपयुक्त जनशक्तिको ठूलो अभाव रहेको बताइन् । एकातिर विद्यार्थीले काम नपाएको गुनासो गर्ने र अर्कोतिर उद्योगले जनशक्ति नपाउने स्पष्ट विरोधाभास रहेको उनको भनाइ थियो। सीप, ज्ञान र सही दृष्टिकोणको अभावका कारण धेरै उद्योगीहरू बाहिरबाट जनशक्ति ल्याउन बाध्य भएको उनले उल्लेख गरिन् ।
सिटिईभिटी इटहरीका सह-निर्देशक दुर्गा प्रसाद ओझाले मध्यम तथा निम्न तहका दक्ष प्राविधिक जनशक्ति उत्पादनमा संस्थाले महत्वपूर्ण भूमिका खेलिरहेको बताए । गत वर्षदेखि औद्योगिक प्रशिक्षार्थी र होटल म्यानेजमेन्ट जस्ता कार्यक्रम थपिएको र उत्पादन तथा सेवा क्षेत्रमा ‘रियल वर्क’ गरेपछि मात्र अध्ययन पूरा हुने मोडेल लागू गरिएको उनले जानकारी दिए। यसले उद्योगलाई आवश्यक जनशक्ति सहजै उपलब्ध गराउन सहयोग पुग्ने उनको विश्वास थियो ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी उपसचिव लक्ष्मी न्यौपानेले प्रदेश तहमा हाल तीनवटा सीप परियोजना सञ्चालनमा रहेको जानकारी दिइन् । युवाहरूलाई लक्षित गरी सञ्चालित तालिमहरूमा २४ महिनेमध्ये केही अवधि तलबसहित र बाँकी सिकाइमा केन्द्रित रहने मोडेल अपनाइएको उनले बताइन्। मन्त्रालयले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई पनि सीपयुक्त बनाएर पठाउने उद्देश्य राखेको छ ।
नेपाल विद्युत प्राधिकरण कोशी प्रदेशका सहायक निर्देशक नवीन कुमार श्रेष्ठले विद्युत क्षेत्रमा ६२ प्रतिशतभन्दा बढी प्राविधिक जनशक्ति आवश्यक पर्ने बताए । प्राधिकरण अहिले अटोमेसन र डिजिटल प्रणालीमा गइसकेकाले अबको शिक्षा प्रणाली प्रविधिमैत्री जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा सगरमाथा ग्रामेन्ट्सकी ललिता श्रेष्ठले आफ्नो अनुभव सुनाउँदै गार्मेन्टमा हेल्परका रूपमा काम सुरु गरेर तीन महिने तालिम र सीप परीक्षणपछि सुपरभाइजर बन्न सफल भएको बताइन् । उनले प्रमाणपत्र मात्र नभई प्रमाणित सीपअनुसार काम गर्नु महत्त्वपूर्ण हुने अनुभव साझा गरिन् । नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजनाका विशेषज्ञ प्रेमकुमार मग्रातीले सहजीकरण गरेको उक्त कार्यक्रममा सहभागीहरूले स्थानीय तहमा समेत सीपयुक्त जनशक्तिलाई रोजगारीको प्रबन्ध मिलाउन सुझाव दिएका थिए ।

























