
काठमाडौं । नेपाल पुलिस क्लबका सुमित विष्ट र नेपाल आर्मी क्लबकी रक्षा धिमाल दोस्रो पावर तेक्वान्दो च्याम्पियनसिपमा शनिबार च्याम्पियन भएका छन् ।
अल नेपाल स्पोर्ट्स फाउन्डेसनको आयोजना तथा नेपाल तेक्वान्दो संघको सहकार्यमा भएको प्रतियोगितामा सुमित पुरुषमा र रक्षा महिलामा च्याम्पियन भएका हुन् ।
कलंकीस्थित अम्रेला इभेन्ट्समा पुरुषतर्फको फाइनलमा सुमित विष्टले आर्मीकै अफताब आलमलाई पराजित गर्दै उपाधि हात पारे । सेमिफाइनलमा सुमितले ऋृतका हरिस बोहरा र अफताबले आर्मीका अम्बिका घिमिरेलाई हराउँदै फाइनल प्रवेश गरेका थिए । प्रतियोगितामा अम्बिका घिमिरे र हरिस बोहराले संयुक्त रूपमा तेस्रो स्थान हासिल गरे ।
महिलातर्फ रक्षा धिमालले फाइनलमा आर्मीकी गीता कठायतलाई पराजित गर्दै उपाधि जितिन् । सेमिफाइनलमा रक्षा धिमालले आर्मीकी वीणा नाथ र गीता कठायतले पासाङ लामालाई पराजित गरेका थिए । महिलातर्फ पासाङ लामा र वीणा नाथ तेस्रो स्थानमा रहे । प्रतियोगितामा प्रथम हुने खेलाडीले ५० हजार रुपैयाँ, दोस्रोले ३० हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा २ तौल समूहमा ८ पुरुष र ८ महिला गरी १६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा सहभागी खेलाडीहरू हालै सम्पन्न १३ औँ कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका स्वर्ण, रजत तथा कांस्य पदक विजेता हुन् ।
विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, फाउन्डेसनका अध्यक्ष एवं काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगीलगायतले पुरस्कार वितरण गरे ।
समापनका अवसरमा पारा तेक्वान्दोका सर्वाधिक सफल प्रशिक्षक कविराज नेगी लामालाई आयोजक फाउन्डेसनले नगद १० हजारसहित सम्मान गरेको थियो ।



















