
विराटनगर । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै तहका प्रतियोगिता समेटिएको वार्षिक क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत क्यानका सचिव पारस खड्काले आगामी वर्षको विस्तृत खेल तालिका सार्वजनिक गर्दै २०२६ नेपाली क्रिकेटका लागि अत्यन्तै व्यस्त र महत्वपूर्ण हुने बताए । घरेलुदेखि विश्वकप छनोटसम्म व्यस्त वर्षको रूपरेखासहित क्यानले सार्वजनिक गरेको क्यालेन्डरअनुसार वर्षको सुरुआत घरेलु क्रिकेटबाट हुनेछ ।
जनवरी महिनामा पुरुष प्रधानमन्त्री कपबाट राष्ट्रिय प्रतियोगिताको औपचारिक सुरुआत गरिनेछ । प्रधानमन्त्री कपअन्तर्गत जनवरी ५ देखि २५ सम्म जिल्ला चरणका खेलहरू सञ्चालन हुनेछन् भने जनवरी २५ देखि फेब्रुअरी १० सम्म प्रदेश चरणका खेलहरू आयोजना गरिनेछन् ।
फेब्रुअरी महिनामा पनि प्रधानमन्त्री कपको प्रदेश चरणले निरन्तरता पाउनेछ । फेब्रुअरी १२ देखि २२ सम्म जय ट्रफी क्रिकेट प्रतियोगिता आयोजना गरिने क्यालेन्डरमा उल्लेख छ ।
यही महिनामा राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको जिल्ला चरण पनि सञ्चालन हुनेछ । जसले विद्यालयस्तरबाटै प्रतिभा खोजी गर्ने क्यानको रणनीतिलाई निरन्तरता दिनेछ ।
मार्च महिनामा पुरुष प्रधानमन्त्री कपको राष्ट्रिय चरण सञ्चालन हुनेछ । मार्च २८ देखि अप्रिल २२ सम्म चल्ने यस चरणसँगै राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको प्रदेश चरण र महिला प्रधानमन्त्री कपको जिल्ला चरण पनि यही अवधिमा आयोजना गरिनेछ । यसले महिला क्रिकेट र विद्यालय क्रिकेटलाई समान प्राथमिकतामा राख्ने क्यानको नीतिले देखाउँछ ।
अप्रिल महिनामा महिला प्रधानमन्त्री कपको प्रदेश चरण आयोजना हुनेछ । साथै, पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको जिल्ला तथा प्रदेश चरण, क्यानका अन्य विकासात्मक कार्यक्रमहरू पनि यही महिनामा सञ्चालन गरिनेछन् ।
मे महिनामा महिला प्रधानमन्त्री कपको राष्ट्रिय चरण मे २ देखि २० सम्म आयोजना गरिनेछ । यसै महिना राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको राष्ट्रिय चरण यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता र क्यान युथ क्याम्प पनि सञ्चालन हुनेछन् । जसले भविष्यका राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
जुन महिनामा सातै प्रदेशमा क्यान लेभल–१ कोचिङ कोर्स सञ्चालन गरिनेछ । त्यस्तै, जुन १५ देखि २५ सम्म राष्ट्रिय टी–२० च्याम्पियनसिप आयोजना हुने क्यालेन्डरमा उल्लेख छ ।
जुलाई महिनामा क्यान लेभल–२ कोचिङ कोर्स तथा पिच क्युरेटर कोर्स सञ्चालन हुनेछन् । जसले प्राविधिक जनशक्ति विकासमा टेवा पुर्याउनेछ । अगस्ट महिनामा क्यान लेभल–१ अम्पायरिङ कोर्स आयोजना गरिनेछ ।
सेप्टेम्बरदेखि अक्टोबरसम्म महिला लङ्गर फर्म्याट प्रतियोगिता आयोजना गर्ने प्रस्ताव गरिएको छ । यसले महिला क्रिकेटलाई छोटो ढाँचाभन्दा बाहिर विस्तार गर्ने उद्देश्य झल्काउँछ ।
अक्टोबरदेखि नोभेम्बरसम्म नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना हुने क्यालेन्डरमा समावेश गरिएको छ । अक्टोबरमै यु–१६ बोइज र गर्ल्स राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप, अन्तरविद्यालय तथा कलेजस्तरीय लङ्गर फर्म्याट प्रतियोगिता र विभिन्न क्षेत्रीय टुर्नामेन्टहरू सञ्चालन हुनेछन् । डिसेम्बर महिनामा पनि विभिन्न क्षेत्रीय टुर्नामेन्टहरू आयोजना गरिनेछन् ।
अन्तर्राष्ट्रिय क्रिकेटतर्फ पनि २०२६ नेपालका लागि महत्वपूर्ण रहनेछ । जनवरी महिनामा आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट नेपालमै आयोजना हुने क्यानले जनाएको छ । फेब्रुअरीमा नेपाली पुरुष टोलीले टी–२० विश्वकप खेल्नेछ ।
मार्च महिनामा पुरुष टोलीले आइसिसी लिग–२ अन्तर्गत शृङ्खला खेल्नेछ भने महिला टोलीले बाइल्याटरल सिरिज खेल्नेछ । यु–१९ टोलीले भुटान भ्रमण गर्ने कार्यक्रम पनि क्यालेन्डरमा समावेश गरिएको छ ।
अप्रिलमा नेपाल ‘ए’ टोलीको शृङ्खला आयोजना हुनेछ । साथै, महिला टोली र यु–१९ महिला टोलीको पनि अन्तर्राष्ट्रिय शृङ्खला हुने उल्लेख छ । जुलाई महिनामा पुरुष टोलीको लिग–२ शृङ्खला हुनेछ भने महिला एसिया कप र यु–१६ इस्ट जोन कप पनि यही महिनामा आयोजना हुनेछन् ।
अगस्ट महिनामा पुरुष टोलीले एसीसी प्रिमियर कप खेल्नेछ । यसै महिना कुवेतसँग टी–२० अन्तर्राष्ट्रिय शृङ्खला र अष्ट्रेलियाको टप एन्ड टुर्नामेन्टमा सहभागिता जनाउने कार्यक्रम पनि समावेश गरिएको छ । सेप्टेम्बरमा पुरुष टोलीको बाइल्याटरल सिरिज र महिला टोलीको युएईसँगको शृङ्खला आयोजना हुनेछ ।
अक्टोबरमा पुरुष टोलीको लिग–२ शृङ्खला हुनेछ भने महिला टोलीको त्रिदेशीय शृङ्खला आयोजना गरिनेछ । नोभेम्बरमा नेपाल प्रिमियर लिग सञ्चालन हुनेछ र वर्षको अन्त्यतिर डिसेम्बर महिनामा महिला तथा पुरुष दुवै टोलीका अन्तर्राष्ट्रिय शृङ्खला आयोजना हुने क्यानले जनाएको छ ।
सार्वजनिक क्यालेन्डरले २०२६ मा नेपाली क्रिकेट सबै तहमा सक्रिय रहने संकेत दिएको छ । घरेलु संरचना मजबुत बनाउने, महिला र विद्यालय क्रिकेट विस्तार गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा निरन्तर सहभागिता जनाउने लक्ष्यसहित क्यानले आगामी वर्षको रोडम्याप अघि सारेको देखिन्छ ।



























