
काँकडभिट्टा । नेपाल र भारतका पत्रकारहरूबीच भाइचारा अभिवृद्धि गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ झापामा ‘इन्डो–नेपाल मेचीनगर मिडिया कप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रेस क्लब मेचीनगरको आयोजनामा यही पुस २७ र २८ गते काँकडभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता हुन लागेको हो।
प्रतियोगितामा भारतका दुई र नेपालका ६ गरी कुल आठवटा पत्रकार सम्बद्ध टिमको सहभागिता रहनेछ। भारतबाट इन्डिया प्रेस क्लब सिलिगुडी र तराई प्रेस क्लब दार्जिलिङ सहभागी हुनेछन् भने नेपालबाट भद्रपुर, अर्जुनधारा, बुद्धशान्ति, दमक, कनकाई र आयोजक मेचीनगर प्रेस क्लबका टिमहरू मैदान उत्रिनेछन्।
प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए। यसका साथै विधागत रूपमा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि पुरस्कृत गरिनेछ।
पर्यटन प्रवर्द्धनको लक्ष्य: खेलकुदको माध्यमबाट दुई देशका सञ्चारकर्मीबीच सम्बन्ध प्रगाढ बनाउनुका साथै नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने मुख्य लक्ष्य राखिएको छ। करिब ८ लाख रुपैयाँ खर्च अनुमान गरिएको यस प्रतियोगिताका लागि स्थानीय सरकार र विभिन्न संघसंस्थाहरूसँग समन्वय भइरहेको आयोजकले जनाएको छ।



















