न्यु डायमन्ड र प्रहरीको विजयी सुरुआत

Share this
812shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष २३, बुधबार १९:३५
न्यु डायमन्ड र प्रहरीको विजयी सुरुआत

काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र डिफेन्डिङ च्याम्पियन नेपाल प्रहरीले ९ औँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको उद्‌घाटन खेलमा ७ औँ संस्करणको विजेता न्यु डायमन्डले नेपाल आर्मीलाई २५–१६, २५–१५ र २५–१७ को सोझो सेटमा पराजित गर्‍यो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठान बालकोटको आयोजनामा भइरहेको प्रतियोगिताको अर्को खेलमा प्रहरीले सुरुका ६ संस्करणको विजेता एपीएफ क्लबलाई सीधा सेटमा २५–२२, २५–२० र २५–२१ ले हरायो ।
पहिलो खेलमा न्यु डायमन्डकी सुमित्रा रेग्मी र दोस्रोमा प्रहरीकी पुनम चन्द  ‘प्लेयर अफ म्याच’ भए । दुवैले जनही १५ हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको राखेपका सदस्यसचिव रामचरित्र मेहताले उद्‌घाटन गरे । सो अवसरमा न्यु डायमन्डकी सुमित्रा रेग्मीलाई प्रतिष्ठानले नगद ५० हजारसहित शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मान गरेको थियो । सदस्यसचिव मेहता र प्रतिष्ठानकी संरक्षक गमली खड्काले सुमित्रालाई पुरस्कृत गरे ।

बिहीबार २ खेल हुनेछ । पहिलो खेल प्रहरी र आर्मी तथा दोस्रो खेल न्यु डायमन्ड र एपीएफबीच हुनेछ ।
राउन्ड रोविन लिगका आधारमा शनिबारसम्म हुने प्रतियोगितामा ४ टिम सहभागी छन् । राउन्ड रोविन लिगमा शीर्ष २ स्थानमा रहने टिम पुनः उपाधिका लागि भिड्ने छन् । बाँकी २ टोलीले तेस्रो स्थानलाई खेल्ने छन् ।

पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइने छ । विधागततर्फ ७ उत्कृष्ट खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रत्येक खेलको  ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×