
विराटनगर । कोशी प्रदेश सरकारको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको वित्तीय प्रगति निकै सुस्त देखिएको छ । सरकारले पुस मसान्तसम्ममा विकास (पूँजीगत) बजेट १० प्रतिशत मात्रै गरेकाे छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि पूँजीगततर्फ कुल १७ अर्ब १४ करोड १८ लाख ८० हजार रूपैयाँ विनियोजन गरेको थियो । तर, आर्थिक वर्षको आधा समय व्यतीत भइसक्दा जम्मा १ अर्ब ७० करोड ३६ लाख ५१ हजार रूपैयाँ मात्र खर्च भएको छ ।
राजश्व संकलनको अवस्था पनि लक्ष्य अनुसार हुन सकेको छैन। चालु वर्ष ५ अर्ब ५० करोड रुपैयाँ आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य राखेको सरकारले ६ महिनामा १ अर्ब ५६ करोड रुपैयाँ मात्र संकलन गरेको छ।
प्रदेश सरकारले भने विकास खर्च न्यून हुनुमा राजनीतिक अस्थिरता र जेनजी आन्दोलनलाई मुख्य कारण मानेको छ । जेनजी आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालय र भौतिक संरचनामा क्षति पुगेका कारण काम प्रभावित भएको थियाे ।

























