
काठमाडौं । नेपालमा उपभोक्ता महँगी उल्लेख्य रूपमा घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२–०८३ को पहिलो ६ महिनाको तथ्यांकअनुसार पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशतमा खुम्चिएको हो।
अघिल्लो वर्ष सोही महिनामा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो । १ वर्षको अवधिमा महँगी दर आधाभन्दा बढीले घटेको देखिन्छ । राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले ऋणात्मक भएको छ ।
यसको अर्थ गत वर्षको तुलनामा समग्र खाद्यवस्तुको मूल्यमा केही गिरावट आएको हो । खाद्य समूहअन्तर्गत दाल तथा गेडागुडीको मूल्य ५.५२ प्रतिशत, मरमसला ३.९२ प्रतिशत र अन्य खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य ३.७० प्रतिशतले घटेको छ । तर, यसै समूहभित्र फलफूलको मूल्य ५.२० प्रतिशत, घिउ तथा तेलको ४.९६ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थको मूल्य ३.०४ प्रतिशतले बढेको देखिन्छ ।
खाद्यवस्तुको तुलनामा गैरखाद्य तथा सेवा समूहमा भने महँगी उच्च छ । पुसमा यस समूहको मुद्रास्फीति ३.८१ प्रतिशत पुगेको छ । गैरखाद्य समूहअन्तर्गत विविध वस्तु तथा सेवाको मूल्यमा २१.७५ प्रतिशतको उल्लेख्य वृद्धि देखिएको छ । यस्तै शिक्षा क्षेत्रको लागत ७.५६ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ५.२९ प्रतिशत र सुर्तीजन्य पदार्थको मूल्य ४.१५ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
क्षेत्रगत रूपमा हेर्दा सहरी क्षेत्रमा महँगी दर ग्रामीण क्षेत्रको तुलनामा केही बढी देखिएको छ । ग्रामीण क्षेत्रमा मुद्रास्फीति १.९९ प्रतिशत रहँदा सहरी क्षेत्रमा २.५७ प्रतिशत कायम भएको छ । काठमाडौं उपत्यकामा उपभोक्ता महँगी दर २.४८ प्रतिशत रहेको छ ।
प्रदेशगत विवरणअनुसार मधेश प्रदेशमा सबैभन्दा बढी ३.३७ प्रतिशत मुद्रास्फीति देखिएको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम १.०८ प्रतिशत मात्रै छ । अन्य प्रदेशहरूमा कोशी प्रदेशमा ३.२५ प्रतिशत, बागमतीमा २.१० प्रतिशत, लुम्बिनीमा २.६२ प्रतिशत, गण्डकीमा १.७६ प्रतिशत र सुदूरपश्चिममा १.२७ प्रतिशत मुद्रास्फीति कायम भएको छ ।
उपभोक्ता महँगी घटेको भए पनि थोक महँगी भने बढेको छ । २०८२ पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.१७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष सोही महिनामा थोक मुद्रास्फीति ४.०१ प्रतिशत मात्रै थियो । थोक मूल्य सूचकअन्तर्गत निर्माण सामग्रीको मूल्य ३.४८ प्रतिशतले बढेको देखिन्छ ।
समग्रमा चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो ६ महिनामा औसत मुद्रास्फीति १.७० प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्ष यही अवधिमा औसत मुद्रास्फीति ४.९७ प्रतिशत रहेको थियो । राष्ट्र बैंकको तथ्यांकले चालु आवमा मूल्यवृद्धि दर उल्लेख्य रूपमा नियन्त्रणमा आएको संकेत गरेको छ ।

























