
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांक सार्वजनिक गरेसँगै देशको समग्र आर्थिक तथा वित्तीय अवस्था सन्तोषजनक दिशामा अघि बढिरहेको देखिएको छ ।
पुस मसान्तसम्मका सूचकहरूले मूल्य स्थिरता, बाह्य क्षेत्रको सबलता र मौद्रिक क्षेत्रमा क्रमिक सुधारको संकेत गरेका छन् । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको छ । जसले पछिल्लो समय मूल्यवृद्धि नियन्त्रणमा रहेको स्पष्ट गर्छ ।
यस अवधिमा कूल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । जुन अमेरिकी डलरमा २२ अर्ब १७ करोड बराबर हो । यस्तो सञ्चिति १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको निष्कर्ष छ । यसलाई बाह्य क्षेत्रमा उल्लेखनीय सबलता मानिन्छ ।
बाह्य कारोबारका सूचकहरू पनि सकारात्मक देखिएका छन् । समीक्षा अवधिमा चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँ बचतमा रहेको छ भने शोधनान्तर ५ खर्ब १ अर्ब २४ करोड रुपैयाँ बचतमा पुगेको छ । विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि देखिएको छ ।
नेपाली रुपैयाँमा विप्रेषण ३९.१ प्रतिशत र अमेरिकी डलरमा ३२.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । चालु आवको पुस महिनामा मात्रै १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ बराबरको विप्रेषण नेपाल भित्रिएको छ । जसले घरेलु उपभोग र विदेशी मुद्रा सञ्चितिमा टेवा पुर्याएको छ ।
विदेश व्यापारतर्फ निर्यातमा उल्लेखनीय सुधार देखिएको छ । यस अवधिमा निर्यात ४३.८ प्रतिशतले बढेको छ भने आयात १४.२ प्रतिशतले वृद्धि भएको छ । निर्यात वृद्धिको यो दरले व्यापार घाटा व्यवस्थापनमा सकारात्मक संकेत दिएको छ ।
सरकारी वित्ततर्फ हेर्दा नेपाल सरकारको कूल खर्च ६ सय ९० अर्ब २२ करोड रुपैयाँ पुगेको छ भने राजस्व परिचालन ५ सय ७७ अर्ब ४० करोड रुपैयाँ रहेको छ । खर्च र राजस्वबीचको अन्तर अझै चुनौतीकै रूपमा रहे पनि राजस्व संकलनको अवस्था अघिल्लो वर्षको तुलनामा सुधारोन्मुख देखिन्छ ।
मौद्रिक सूचकहरूमा पनि क्रमिक सुधार देखिएको छ । विस्तृत मुद्राप्रदाय समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा १४.२ प्रतिशतको वृद्धि दर्ज भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन ५.७ प्रतिशतले बढेको छ । निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले वृद्धि भएको छ । वार्षिक आधारमा निक्षेप वृद्धिदर १४.८ प्रतिशत र कर्जाको वृद्धिदर ६.७ प्रतिशत रहेको छ ।
ब्याजदरको अवस्था तुलनात्मक रूपमा स्थिर देखिएको छ । बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत रहेको छ भने ९१ दिन अवधिको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३५ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.१२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले मुलुकको आर्थिक तथा वित्तीय अवस्था स्थिरतर्फ उन्मुख रहेको देखाउँछ । विदेशी विनिमय सञ्चितिको मजबुती, न्यून मुद्रास्फीति र विप्रेषण तथा निर्यातमा देखिएको वृद्धिले अर्थतन्त्रमा भरोसा बढाएको छ । यद्यपि, खर्च व्यवस्थापन र निजी क्षेत्रको कर्जा विस्तार अझै नीतिगत प्राथमिकताकै विषय बनेका छन् ।
यस्तो छ नेपाल राष्ट्र बैंकको तथ्यांकको पूर्णपाठ

























