
संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकामा निर्माणाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ छिचोलिएको छ ।
सफलतापूर्वक सुरुङ ‘ब्रेक थ्रु’ गरिएको उक्त आयोजनाबाट २१.५ मेगावाट विद्युत उत्पादन हुने छ । निजी क्षेत्रको लगानीमा अघि बढाइएको यस आयोजनाको सुरुङ निर्माण कार्यले महत्वपूर्ण चरण पार गरेको हो ।
सभाखोलाको पानी प्रयोग गरी विद्युत् उत्पादन गर्ने उद्देश्यसहित निर्माणाधीन आयोजनाको मुख्य सुरुङ मंगलबार औपचारिक कार्यक्रमका बीच ‘ब्रेक थ्रु’ गरिएको हो । अर्विट इनर्जी लिमिटेडका प्रबन्ध सञ्चालक गणेश कार्कीले सुरुङ आयोजनाको प्रगति स्थानीय र राष्ट्रिय ऊर्जा सुरक्षाका लागि महत्वपूर्ण रहेको बताए ।
सभापोखरी गाउँपालिका–३ मा इन्टेक एरिया रहेको सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको मुख्य सुरुङको लम्बाइ ४ हजार १ सय १० मिटर रहेको छ । इन्टेक (मुहान) क्षेत्रबाट सुरु भई पेनस्टक पाइप जडान हुने स्थानसम्मको सम्पूर्ण सुरुङ छिचोलिएसँगै अब आयोजनाको अर्को चरणको काम अघि बढ्ने भएको छ । आयोजना सभापोखरी गाउँपालिका–३, ४ र ५ वडामा फैलिएको छ ।
सुरुङ ‘ब्रेक थ्रु’ भएपछि अब बाँकी कंक्रिट लाइनिङको काम गरिने आयोजनाले जनाएको छ । मुख्य सुरुङबाट आएको पानीलाई करिब १ हजार ४५ मिटर लामो पेनस्टक पाइपमार्फत विद्युत् गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ ।
आयोजनाका इन्चार्ज कृष्णप्रसाद पन्तका अनुसार हालसम्म आयोजनाको समग्र भौतिक प्रगति करिब ७५ प्रतिशत सम्पन्न भइसकेको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् खाँदबारी नगरपालिका–१० स्थित सित्तलपाटीमा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सब–स्टेशनमा जोडिने व्यवस्था मिलाइएको छ ।
२०७९ कात्तिक २३ गतेदेखि निर्माण सुरु गरिएको यस आयोजनालाई २०८३ बैशाख २३ गतेभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । प्रसारण लाइनतर्फको काम पनि तीव्र गतिमा अघि बढिरहेको र हालसम्म करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
आयोजना प्रभावित क्षेत्रहरूमा सामुदायिक विकास कार्यक्रमअन्तर्गत स्थानीयलाई रोजगारी, शिक्षा र स्वास्थ्य सहयोग, खानेपानी, सडक निर्माण तथा बेलिब्रिज पुल निर्माणजस्ता कामहरू समेत गरिँदै आएको छ । यसले स्थानीय विकास र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
सभाखोला ‘बी’ जलविद्युत् आयोजनाले आगामी २०८३ वैशाखदेखि नियमित रूपमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । आयोजनाको मुख्य निर्माण कम्पनी बैभव पावर नेपाल प्रा.लि रहेको छ । आयोजनाको कुल लागत करिब ५ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

























