
विराटनगर । मोरङ उद्योग व्यापार संघ र वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरूबीच विराटनगरमा औपचारिक भेटघाट तथा व्यावसायिक छलफल भएको छ। वीरगञ्जबाट उपाध्यक्षद्वय मनोजकुमार दास र आशिष कुमार लाठको नेतृत्वमा आएको टोलीलाई मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडा र कार्यकारिणी सदस्य विनित सिंघानिया लगायतले स्वागत गरे।
भेटका क्रममा दुई संघबीच आपसी सद्भाव र सहकार्य विस्तारबारे गम्भीर विचार-विमर्श भयो। मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष सारडाले विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्ज जस्ता मुख्य आर्थिक कोरिडोरका उद्योगीहरूले भोग्नुपरेका व्यावहारिक समस्याहरू अन्य क्षेत्रको तुलनामा जटिल रहेको बताए। उनले यस्ता साझा समस्या समाधानका लागि सबै प्रमुख व्यावसायिक संघहरू मिलेर सरकारलाई सशक्त दबाब दिनुपर्नेमा जोड दिए।
वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोजकुमार दासले निजी क्षेत्रका मुद्दा उठाउन मोरङ उद्योग व्यापार संघले खेल्दै आएको नेतृत्वदायी भूमिकाको प्रशंसा गरे। उनले उद्योगी-व्यवसायीको साझा हितका लागि आफ्नो संघले मोरङसँग सधैँ सहकार्य गर्ने प्रतिबद्धता समेत जनाए।

























