
काठमाडौं । आइसीसी टी २० विश्वकप शनिबारदेखि सुरु हुँदैछ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने यस विश्वकपमा २० देशको सहभागिता रहेको छ । टी २० विश्वकपको यो १० औँ हो ।
विश्वकपमा नेपालसहित २० देशले प्रतिस्पर्धा गर्दै छन् । विश्वकपको समूह ‘ए’ मा आयोजक देश भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड्स र नामिबिया छन् ।
त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आयरल्यान्ड, जिम्बाबे र ओमान रहेका छन् । समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, स्कटल्यान्ड, इटाली र इङ्ग्ल्याण्ड छन् । समूह ‘डी’ मा न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् ।
टी २० विश्वकपको डिफेन्डिङ च्याम्पियन भारत हो । २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा भारतले दक्षिण अफ्रिकालाई पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो । । यस अघि सम्पन्न नौं विश्वकपमा सबैभन्दा बढी भारत, इङ्ग्ल्याण्ड र वेस्ट इन्डिजले २–२ पटक जितेका छन् । इङ्ग्ल्याण्डले २०१० र २०२२ मा, वेस्ट इन्डिजले २०१२ र २०१६ तथा भारतले २००७ र २०२४ मा विश्वकप जितेको थियो ।
त्यस्तै, अस्ट्रेलियाले २०२१ मा, श्रीलंकाले २०१४ मा र पाकिस्तानले २००९ मा जितेका थियो । टेस्ट खेल्ने प्रमुख राष्ट्र न्युजिल्याण्ड र दक्षिण अफ्रिका जस्ता देशले अहिलेसम्म टी २० विश्वकप जित्न सकेका छैनन् ।
न्युजिल्याण्ड २०२१ मा उपविजेता, दक्षिण अफ्रिका २००९, २०१४ मा सेमिफाइनल र २०२४ मा फाइनलसम्म पुगेको थियो । यस्तै, आयरल्यान्ड र बंगलादेश १–१ पटक सुपर ८ सम्म पुगेका छन् भने नेदरल्याण्ड्स १ पटक सुपर १२ मा, अफगानिस्तान १ पटक सुपर १० सम्म पुगेका छन् । जिम्बाबे, नामिबिया र स्कटल्यान्ड १–१ पटक सुपर १२ सम्म पुगेका छन् ।
नेपाल यस अघि २०२४ को विश्वकपमा १० वर्षपछि टी २० विश्वकपमा कम ब्याक गरेको थियो । नेपालले त्यस अघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जिते पनि बंगलादेशसँग पराजित हुँदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो ।
गत विश्वकपमा नेपालले ४ खेलमा ३ खेलमा हर बेहोरेको थियो भने १ खेलको नतिजा नआउँदा अंक बाँडेर समूह चरणबाटै बाहिरिएको थियो । नेपाल दक्षिण अफ्रिकासँग केवल १ रनले पराजित भएको थियो बंगलादेशसँग २१ रनले हार बेहोरेको थियो । त्यस्तै, नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको नेपाल श्रीलंकासँगको खेल वर्षाले हुन नसक्दा अंक बाँडेको थियो । नेपालले यस पटक तेस्रो पटक विश्वकपमा सहभागिता जनाउँदै छ ।

























