
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले आज (आइतबार) नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख रुपैयाँको विन्दु पार गर्दै ३ लाख ५०० रुपैयाँ पुगेको छ।
शुक्रबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुन आज एकैदिन ९ हजार ५०० रुपैयाँले बढेको हो। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ६३० रुपैयाँ कायम भएको महासंघले बताएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ। शुक्रबार प्रतितोला ४ हजार ७१० रुपैयाँ रहेको चाँदी आज ३०० रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ पुगेको छ। १० ग्राम चाँदीको मूल्य भने ४ हजार २९५ रुपैयाँ निर्धारण गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा भइरहेको निरन्तर वृद्धिका कारण नेपाली बजारमा पनि यसको प्रत्यक्ष प्रभाव परेको महासंघले जनाएको छ। पछिल्लो समय लगानीकर्ताहरू सुनतर्फ आकर्षित हुँदा मूल्यले दिनहुँजसो नयाँ रेकर्ड बनाइरहेको छ।

























