
काठमाडौँ। उदयपुरको त्रियुगा नगरपालिकास्थित थरुहट रङ्गशालामा सञ्चालन हुने ‘रेडबुल एन्फा महिला च्याम्पियनसिप’ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यही फागुन १ देखि ९ गतेसम्म सो प्रतियोगिता सञ्चालन हुनेछ।
नकआउट प्रणालीमा खेलाइने यस प्रतियोगितामा देशभरका १० वटा टिमले सहभागिता जनाउने भएका छन्। जसमा गाईघाट एफसी, एनआरटी, त्रिभुवन आर्मी, नेपाल पुलिस, एफसी रियाले, एपीएफ क्लब, आरएस रिसोर्ट, चर्च ब्वाइज युनाइटेड, छहारी एफसी र संकटा एफसी रहेका छन्।
प्रतियोगिताको विजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै सेमिफाइनल पुग्ने दुई टोलीले ५०–५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।

























