
विराटनगर । नेपालको औद्योगिक इतिहासमा गौरवमय पहिचान बनाएको उद्योग संगठन मोरङले आफ्नो स्थापनाको ५७ वर्ष पूरा गरी ५८ औँ वर्षमा प्रवेश गरेको छ ।
वि.सं. २०२४ सालमा उत्पादनमूलक उद्योग र व्यवसायको हकहित संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्थापित यस संगठनले आफ्नो ५८ औँ स्थापना दिवसलाई विशेष बनाउँदै नवीन कार्यक्रमहरू सार्वजनिक गरेको छ ।
स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहमा संगठनले सञ्चालन गर्दै आएका विभिन्न सिर्जनशील कार्यक्रम र पहलहरूको ‘सोकेस’ गरिएको थियो । संगठनले यसै अवसरमा औद्योगिक क्षेत्रमा डिजिटल क्रान्ति र प्रत्यक्ष अनुभवलाई जोड्न दुई वटा महत्त्वपूर्ण प्लेटफर्मको शुभारम्भ गरेको छ । संगठनका पूर्वअध्यक्ष नन्दकिशोर राठीले यस अत्याधुनिक प्रदर्शनी कक्ष ‘सिआईएम एक्सपिरियन्स जोन’ को उद्घाटन गरे । यहाँ यस क्षेत्रका उद्योगहरूको उत्पादन प्रदर्शन गरिनुका साथै ‘भर्चुअल रियालिटी’ मार्फत प्रत्यक्ष उद्योग भ्रमण र क्रेता–बिक्रेताबिच भेटघाट गर्ने सुविधा उपलब्ध छ ।
त्यसैगरी, संगठनले व्यवसाय / व्यवसायबीचको सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ भर्चुअल बीटुबी प्लेटफर्म विराट बजार डटकमको संगठनका पूर्वअध्यक्ष दिनेश गोल्छाले औपचारिक शुभारम्भ गरे । उक्त प्लेटफर्ममार्फत स्वदेशी उद्योग तथा व्यवसायलाई डिजिटल माध्यमबाट जोड्दै बजार विस्तारमा सहयोग पुग्ने विश्वास संगठनले लिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उद्योग संगठन मोरङले स्थानीय आर्थिक तथा औद्योगिक इकोसिस्टम विकासमा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उद्योग, व्यवसाय र उद्यमशीलता प्रवर्द्धनका क्षेत्रमा संगठनले थालेका नवीन अभ्यासहरू अन्य संस्थाका लागि पनि अनुकरणीय रहेको बताए ।

























