
काठमाडौं । जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक सफलता दिलाउने लक्ष्यका साथ अघि बढाइएको ‘मिसन २०२६’ लाई सरकारले पूर्ण साथ दिने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरेको यस विशेष अभियानलाई निरन्तरता दिन निर्देशन दिएकी छन् ।
राखेपका सदस्यसचिव रामचरित्र मेहताको नेतृत्वमा गएको टोलीसँगको भेटमा प्रधानमन्त्री कार्कीले खेलकुदको विकास र खेलाडीको तयारीमा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरिन् । राम्रो तयारी गरेर देशका लागि पदक जित्ने हाम्रो साझा उद्देश्य हो, प्रधानमन्त्री कार्कीले भनिन्, ‘मिसन २०२६ का लागि आवश्यक थप बजेट व्यवस्थापन गर्न म आफैँ अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गर्ने छु । राम्रो तयारी गरी उद्देश्य पूरा गर्न फागुन २१ को निर्वाचन लगत्तै विशेष प्रशिक्षण जारी राख्नु ।’
सन् २०२६ मा जापानमा हुने २० औँ एसियाली खेलकुदमा स्वर्ण पदकसहित दोहोरो अंकमा पदक ल्याउने महत्त्वाकाङ्क्षी लक्ष्यका साथ राखेपले यो अभियान सुरु गरेको हो । यसअन्तर्गत विगत २ वर्षदेखि १० विभिन्न खेलका ११ वटा टोलीलाई विशेष प्रशिक्षण दिइँदै आएको छ ।
चालु आर्थिक वर्षमा विनियोजित बजेट सकिन लागेको र माघ महिनासम्म मात्र कार्यक्रम सञ्चालन हुने अवस्था भएपछि राखेप टोलीले बजेट सुनिश्चितताका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचन लगत्तै विशेष प्रशिक्षणलाई पुनः तीव्रता दिन निर्देशन दिएकी छन् । निर्वाचनको व्यस्तताका बीच पनि खेलाडीहरूको तयारीमा असर पर्न नहुने र तयारीलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिइन् ।
सदस्यसचिव मेहताले एसियाली खेलकुदको तयारीको हालसम्मको प्रगति र भावी योजनाबारे प्रधानमन्त्रीलाई विस्तृत जानकारी गराए । भेटमा राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट र उपनिर्देशक दीपक श्रेष्ठको समेत सहभागिता रहेको थियो ।

























