
काठमाडौँ। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै सुरुवाती लक्ष्यमा व्यापक कटौती गरेको छ। सरकारले चालु आर्थिक वर्षमा हुने खर्चको अनुमानलाई परिमार्जन गर्दै बजेटको वास्तविक आकारभन्दा १४.०४ प्रतिशतले कम खर्च हुने प्रक्षेपण गरेको हो।
गत जेठ १५ गते सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको ठूलो आकारको बजेट प्रस्तुत गरेको थियो। सो बजेटमा चालु खर्चका लागि ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय व्यवस्थाका लागि ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ छुट्याइएको थियो।
तर अर्धवार्षिक समीक्षा पछि अर्थ मन्त्रालयले संशोधित अनुमान सार्वजनिक गरेको छ। नयाँ अनुमान अनुसार अब चालु खर्चतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड रुपैयाँ मात्र खर्च हुने देखिएको छ। यो सुरुवाती विनियोजनको ९५.३४ प्रतिशत हो।
सबैभन्दा कमजोर अवस्था विकास लक्षित पुँजीगत खर्चमा देखिएको छ। सरकारले पुँजीगततर्फ सुरुवाती बजेटको तुलनामा ५९.६५ प्रतिशत अर्थात् २ खर्ब ४३ अर्ब ३० करोड रुपैयाँ मात्र खर्च हुने संशोधित अनुमान गरेको छ। यसैगरी वित्तीय व्यवस्थातर्फ ३ खर्ब १९ अर्ब ०४ करोड रुपैयाँ खर्च हुने लक्ष्य राखिएको छ, जुन सुरुवाती बजेटको ८५.०२ प्रतिशत हो।

























