
झापा । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका हरि कार्कीको ह्याट्रिक मद्दतमा भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
बिर्तामोडमा जारी ७ औँ झापा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा एकपक्षीय खेल्दै एपीएफले खेल अवधिभर भुटानलाई दबाबमा राखेको थियो ।
खेलको छैटौँ मिनेटमै एपीएफले गोलको खाता खोल्यो । एपीएफका स्ट्राइकर प्रदीप लामाले करिब ३० यार्डबाट गरेको लङ रेञ्जर सटले जाली चुमेको थियो । एपीएफका लागि अर्को गोल कप्तान हरि कार्कीको नाममा रह्यो । उनले खेलको १८ औँ मिनेटमा दीपेश धिमालले डिबक्समा मिलाइ दिएको पासलाई गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
एपीएफका लागि तेस्रो गोल पनि कप्तान कार्कीकै नाममा रह्यो । २२ औँ मिनेटमा समिराज थोकरले गरेको प्रहार भुटानका गोलरक्षक टासी नोर्बुबाट रिबाउन्स भएको बललाई सदुपयोग गर्दै कार्कीले टिमको जित निश्चित गरेका थिए ।
खेलको ८३ औँ मिनेटमा गोल गर्दै एपीएफका कप्तान कार्कीले ह्याट्रिक पूरा गरे । भुटानका गोलकिपरबाट रिबाउन्स भएको बललाई डिबक्समा अनमार्क रहेका कार्कीले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । योसँगै जारी प्रतियोगितामा हालसम्म ह्याट्रिक गर्ने कार्की एक्ला खेलाडी बनेका छन् ।
भुटानका लागि एक मात्र सान्त्वना गोल पेनाल्टीबाट सम्भव भयो । खेलको ७९ औँ मिनेटमा किन्जाङ तेन्जिङ शेर्पालाई एपीएफका दीपेश धिमालले डिबक्समा फल गरेपछि भुटानले पेनाल्टी पाएको थियो । शेर्पाले नै पेनाल्टीमार्फत गोल गरेका थिए ।
खेलमा एपीएफले आक्रामक तथा भुटानले रक्षात्मक खेल प्रस्तुत गरेका थिए । एपीएफले खेलको ३ मिनेटमै विपक्षी पोष्टमा आक्रमण सुरु गरेको थियो । एपीएफका दीपेश धिमालले गरेको प्रहार भुटानका गोलकिपरले मुस्किलले जोगाएका थिए । १६ औँ मिनेटमा गोलकिपर बिट भइसकेको अवस्थामा समिराज थोकरले गरेको अर्को प्रहार भुटानका डिफेन्डरले गोल लाइनबाट बचाए ।
सुरुको २२ मिनेटमै ३ गोल खाएको भुटानले खेलको २८ औँ मिनेटमा अग्रता कम गर्ने अवसर पाएको थियो । सोनाम यासेले गोलपोष्ट नजिकै पाएको बललाई सदुपयोग गर्न सकेनन् ।
त्यस्तै, ७८ औँ मिनेटमा जिग्मे सुल्ट्रिमको फ्रिकिक क्रस बारमा लागेर बाहिरिँदा भुटान स्कोर अन्तर घटाउन चुकेको थियो ।
खेलको प्लेयर अफ द म्याच एपीएफका ह्याट्रिककर्ता हरि कार्कीले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
बिहीबारको क्वाटरफाइनल खेल मछिन्द्र एफसी र एन पेनाङ मलेसियाबीच हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।

























