
काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्रलाई सही दिशामा अघि बढाउन सूचनाको समयमै र सही प्रवाह हुनु अनिवार्य रहेको बताएका छन्। काठमाडौंमा शुक्रबार आयोजित ‘मिडियामा सूचनाको हक’ सम्बन्धी एक कार्यक्रममा बोल्दै उनले सूचनामा सबैको समान पहुँच नहुँदा बजारमा असन्तुलन पैदा भएको उल्लेख गरे।
मन्त्री खनालले पुँजीबजार (सेयर बजार) मा ‘इन्साइडर ट्रेडिङ’ (भित्री सूचनाका आधारमा गरिने कारोबार) प्रमुख समस्याका रूपमा रहेको बताए। ‘जब केही सीमित व्यक्तिले मात्रै महत्वपूर्ण सूचनामा पहुँच राख्छन् र बाँकी लगानीकर्ताले ढिलो सूचना पाउँछन्, तब स्वच्छ प्रतिस्पर्धा हराउँछ,’ उनले भने। सूचनाको हकसम्बन्धी कानुन भए पनि व्यवहारमा सबै लगानीकर्ताले एउटै समयमा सूचना नपाउँदा बजार प्रभावित भइरहेको उनको भनाइ छ।
उनले धातु बजारको उदाहरण दिँदै सुन–चाँदीको मूल्यबारे समयमै जानकारी पाउने र नपाउने व्यवसायीबीच नाफा–नोक्सानीमा ठूलो अन्तर पर्ने स्पष्ट पारे। अर्थतन्त्रका हरेक क्षेत्रमा सूचनाको पारदर्शी प्रवाहले मात्रै लगानीकर्ताको मनोबल उच्च राख्न र बजारलाई स्वस्थ बनाउन सकिनेमा उनले जोड दिए।

























