
विराटनगर । कोशी प्रदेश सरकारले पहिलोपटक गत वैशाखमा आयोजना गरेको लगानी सम्मेलनमा प्रतिबद्धता व्यक्त भएका परियोजनाहरु कार्यान्वयनको चरणमा अघि बढेका छन् ।
सम्मेलनमा कोशी प्रदेश सरकारले ५१ वटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । तीमध्ये ५० वटा परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेका हुन् ।
लगानी सम्मेलनको उपलब्धिका बारेमा समीक्षा कार्यक्रममा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आयोजनाहरु कार्यान्वयनको चरणमा प्रवेश गरेको बताएका हुन् । लगानी सम्मेलनमा आएका प्रतिबद्धताहरुलाई कार्यान्वयनमा लैजानका लागि हरेक ३ महिनामा छलफल गरिने उनले बताए ।
लगानी सम्मेलनपछि लगानीकर्ताहरूसँग व्यक्तिगत र सामूहिक छलफल भएपनि बिहीबार भने व्यापक रुपमा छलफल गरेर देखिएका कानुनी उल्झनहरु समाधान गर्ने प्रयत्न गरिएको उनले बताए । सम्मेलनका क्रममा ५१ वटा परियोजनाका लागि कुल १ खर्ब ५७ अर्ब ३८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भएको थियो ।
प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले ५ वटा परियोजना पीडीएमा गएको जानकारी दिए ।

























