फाइल तस्बिरविराटनगर । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को माघ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले माघ महिनाका लागि तोकिएको लक्ष्यको तुलनामा १०२.९४ प्रतिशत प्रगति हासिल गरेको हो।
माघमा ३ अर्ब २३ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ३ अर्ब ३३ करोड ५ लाख रुपैयाँ असुली गरेको छ। यो चालु आर्थिक वर्षका सात महिनामध्येकै उच्च प्रतिशत रहेको भन्सार प्रमुख उमेश श्रेष्ठले बताए। अनलाइन भ्यालुएसन प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएकाले राजस्व संकलनमा उल्लेख्य सुधार देखिएको उनको भनाइ छ।
समग्र सात महिनाको तथ्याङ्क हेर्दा विराटनगर भन्सारले लक्ष्यको ८२.९ प्रतिशत राजस्व संकलन गरिसकेको छ। साउनदेखि माघसम्म २३ अर्ब ५५ करोड ७६ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा १९ अर्ब ३१ करोड ९१ लाख रुपैयाँ संकलन भइसकेको छ। गत वर्षको सोही अवधिमा ८१ प्रतिशत मात्र राजस्व उठेको थियो।
भन्सारबाट मुख्यगरी भन्सार महसुल, कृषि सुधार शुल्क, अन्तःशुल्क, सडक सुधार दस्तुर, कोइला इन्धनसम्बन्धी हरित कर र मूल्य अभिवृद्धि कर (भ्याट) शीर्षकमा राजस्व संकलन हुँदै आएको छ। भन्सार प्रशासनमा गरिएको प्रविधिमैत्री सुधारले आगामी महिनाहरूमा पनि राजस्व संकलन प्रभावकारी हुने अपेक्षा गरिएको छ।

























