
काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजन २०८३ जेठ २२ गतेदेखि काठमाडौंमा हुने भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममार्फत एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले दोस्रो संस्करणको मिति घोषणा गरेको हो ।
एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले भने, ‘गत वर्ष पहिलो संस्करण कल्पनाभन्दा पनि राम्रो भयो । यसले नेपाली कबड्डीमा व्यावसायिकता सुरुआत गरेको छ । अब दोस्रो सिजनलाई त्योभन्दा राम्रो र उत्कृष्ट ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’
उनले थपे, ‘दोस्रो सिजनको लागि ५ सय १२ नेपाली खेलाडी र १५ देशका १ सय बढी विदेशी खेलाडीले नाम दर्ता गरेका छन्, जुन संख्या गत वर्षभन्दा करिब दोब्बर हो र यसले दोस्रो सिजन भव्य हुने संकेत गरेको छ ।’
प्रमुख बेगानीले प्रो कबड्डी लिगका अनुभवी भारतीय खेलाडीहरूसँगै इरान, कोरिया, पोल्यान्डलगायतका उत्कृष्ट खेलाडी एनकेएल खेल्न नेपाल आउन तयार रहेको पनि बताए । एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विकास अग्रवालले एनकेएल १० करोड बजेटमा सञ्चालन हुने जानकारी दिए ।
कार्यक्रममा नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापा, महासचिव अरविन्दकुमार झा, र्यापर भियोमा पनि उपस्थित थिए । पहिलो सिजन ६ सहरका ६ टिम विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गरेका थिए ।
फाइनलमा काठमाडौंमाथि ४३–४१ को जित रच्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो । एस्ट्रोनिक्स म्योनजेमन्ट कबड्डीलाई ग्रास रुटबाटै विकास गर्ने प्रयासमा एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप पनि सुरु गरेको छ ।

























