
काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण लिएर नतिर्ने १३ हजार ऋणीको चल र अचल सम्पत्ति रोक्का राखेको छ। समितिले समस्याग्रस्त घोषित भएका सहकारीका ऋणी सदस्यहरूको बैंक खाता, सेयर तथा घरजग्गा रोक्का गरेको हो।
रोक्का राखिएको सम्पत्ति जफत गरी लिलामीमार्फत बचतकर्ताको रकम फिर्ता गर्ने समितिको योजना छ। यद्यपि, ऋणीहरूको सम्पत्ति जफत गर्दा पनि सबै बचतकर्ताको पैसा फिर्ता गर्न रकम अपुग हुने देखिएको समितिको भनाइ छ।
समितिका अनुसार हालसम्म ७४ हजार ३०७ जना बचतकर्ताले ४४ अर्ब ४८ करोड ९० लाख रुपैयाँभन्दा बढीको बचत मागदाबी पेस गरेका छन्। जसमध्ये अहिलेसम्म ४ अर्ब १२ करोड ६६ लाख रुपैयाँ मात्र बचत फिर्ता र मिलान कार्य सम्पन्न भएको छ।

























