
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख चार राजनीतिक दलले आ-आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सार्वजनिक गरेका यी दस्तावेजमा पुँजीबजार (सेयर बजार) लाई विशेष प्राथमिकताका साथ समेटिएको छ।
विशेष गरी नेपाली कांग्रेस र रास्वपाले पुँजीबजार सुधारका लागि विस्तृत योजनाहरू अघि सारेका छन्। एमालेले केही महत्वपूर्ण बुँदाहरू समावेश गरेको छ भने नेकपाले यस विषयमा निकै संक्षिप्त नीति मात्र अगाडि सारेको छ। कांग्रेसले आफ्नो घोषणापत्रलाई ‘प्रतिज्ञापत्र’ र रास्वपाले ‘वाचापत्र’ नाम दिएका छन् भने अन्य दुई दलले ‘घोषणापत्र’ कै नाममा दस्तावेज सार्वजनिक गरेका हुन्।
कांग्रेस : मोबाइल एपदेखि लगानीकर्ता संरक्षण कोषसम्म
नेपाली कांग्रेसले आफ्नो प्रतिज्ञापत्रमा पुँजीबजारलाई प्रविधिमैत्री र सुरक्षित बनाउने योजना अघि सारेको छ। वैदेशिक रोजगारीमा रहेका र गैरआवासीय नेपालीलाई मोबाइल एपमार्फत सिधै सेयर बजारमा जोड्ने कांग्रेसको योजना छ।
कांग्रेसले भित्री कारोबार र बजारको अस्वाभाविक चलखेल रोक्न अत्याधुनिक निगरानी प्रणाली लागू गर्ने बताएको छ। साना लगानीकर्ताको हितका लागि ‘लगानीकर्ता संरक्षण कोष’ लाई प्रभावकारी बनाउने, साना तथा मझौला उद्योगका लागि छुट्टै ‘एसएमइ प्लाटफर्म’ विकास गर्ने र धितोपत्र बोर्डलाई पूर्ण स्वायत्त बनाउने प्रतिज्ञा गरेको छ। त्यस्तै, विद्यालय तहको पाठ्यक्रममै सेयर बजार र वित्तीय व्यवस्थापनसम्बन्धी शिक्षा समावेश गर्ने कांग्रेसको योजना छ।
राष्ट्रिय स्वतन्त्र पार्टी : डेरिभेटिभ बजार र अन्तर्राष्ट्रिय स्तरको नेप्से
रास्वपाले आफ्नो वाचापत्रमा पुँजीबजारलाई अर्थतन्त्रको वास्तविक ऐना बनाउने दाबी गरेको छ। उसले नेप्से र सिडिएससीको पुनर्संरचना गरी निजी क्षेत्रको सहभागिता बढाउने र इन्ट्रा-डे ट्रेडिङ, सर्ट सेलिङ, फ्युचर्स र अप्सन जस्ता डेरिभेटिभ उपकरणहरू चरणबद्ध रूपमा सुरु गर्ने वाचा गरेको छ।
रास्वपाले धितोपत्र बोर्डको संरचना पुनर्गठन गर्ने, वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने र आईपीओ प्रणालीमा आमूल सुधार गरी निष्पक्ष बाँडफाँड सुनिश्चित गर्ने बताएको छ। पुँजीबजारलाई काठमाडौं बाहिर डिजिटल माध्यमबाट देशैभर पुर्याउने र संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति पनि रास्वपाको छ।
एमाले : डिजिटल मुद्रा र सेयरमा विप्रेषण
एमालेले आफ्नो घोषणापत्रको २० औं बुँदामा वित्तीय प्रणालीबारे उल्लेख गर्दै पुँजीबजारको प्रभावकारी नियमन र विस्तार गर्ने बताएको छ। सेयर लगानीकर्ताको हित संरक्षण गर्ने र वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणलाई सेयर बजार र उत्पादनशील क्षेत्रमा लगानी गर्ने अवसर सिर्जना गर्ने एमालेको बाचा छ।
एमालेले वित्तीय सेवालाई पूर्ण डिजिटल बनाउने, डिजिटल मुद्रा सञ्चालनमा ल्याउने र साइबर अपराध नियन्त्रण गर्ने विषयलाई पनि प्राथमिकता दिएको छ। साथै, भेन्चर क्यापिटल, क्राउड फन्डिङ र हरित बन्ड जस्ता वैकल्पिक वित्तको प्रबन्ध गर्ने एमालेको योजना छ।
नेकपा : पुँजीबजारमा मौनता
अन्य तीन दलले पुँजीबजारका लागि विभिन्न योजना अघि सारिरहँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भने यस विषयमा आफ्नो घोषणापत्रमा निकै कम ध्यान दिएको छ। नेकपाको घोषणापत्रमा पुँजीबजारको सम्बन्धमा केवल एक लाइन मात्र उल्लेख गरिएको छ, जसले गर्दा पुँजीबजारका लगानीकर्ताका लागि यो दलको ठोस योजना स्पष्ट हुन सकेको छैन।

























